युट्युबमा रुचाइयो गोर्खा वारियर ट्रेलर



काठमाडौँ। आगामी फागुन ११ गतेबाट रिलिज हुने चलचित्र ‘गोर्खा वारियर’ ट्रेलरलाई युट्युबमा दर्शकले उल्लेख्य रुचाएका छन् । गत माघ ११ मा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरलाई हालसम्म ४ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ ।

एक्सन र ऐतिहासिक जनरामा निर्माण गरिएको यो चलचित्रमा मिलन चाम्सको निर्माण र निर्देशन छ । ट्रेलरलाई २५ हजार दर्शकले लाईक गरेका छन् भने एक हजार तीन सय भन्दा बढी कमेन्ट ट्रेलरमा छ । ‘ट्रेलर बुस्ट नगरे पनि हामीले दैनिक रूपमा १ लाख अर्ग्यानिक भ्यूज पाउँदै आएका छौँ’, मिलन भन्छन् । अधिकांशले ट्रेलर मन पराएको जानकारी दिँदै चलचित्र हेर्न लालायित भएको प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

‘गोर्खा वारियर’ नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ । चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अङ्ग्रेजी संस्करणको निर्माण पनि अन्तिम चरणमा छ ।

चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेश पायल राईको गायन रहेको छ ।

चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

केही समय अघि बेलायतमा रेड कार्पेट प्रिमियर गरिएको यो चलचित्र ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डको प्रारम्भिक मनोनयनमा परेको छ । चलचित्र नेपालमा श्री बेंकेटेस फिल्मसका मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu