हलिउडको सपना बुन्दै आकाश



वैकुण्ठ गिरी, क्यालिफोर्निया।
नेपाली युवाहरू लागि अमेरिका जस्तो देश सपनाको देश बनिरहेको छ । युवाहरूले अमेरिका आएर बुन्ने सपना सानातिना हुँदैनन् । त्यही पङ्क्तिमा रहेको नाम हो, आकाश देवकोटा । लस एन्जलसमा बसोबास गर्ने देवकोटाले अङ्ग्रेजी भाषाको गीतमा कभर भिडियो बनाई सार्वजनिक गरेका छन् ।

आकाश नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक कृष्ण देवकोटाका छोरा हुन् । कास्की चापाकोटमा मूल घर भई पोखरा १७ बिरौटामा हुर्किएका देवकोटाले अमेरिकी गायक क्रिस ब्राउनको गीत ‘फरबिडन’मा अभिनय गरेका हुन् । उनले उक्त गीतको कभर भिडियो बनाएका हुन् । भिडियोमा आकाशले आकर्षक नृत्यकला देखाएका छन् । यो गीतको ओरिजिनल भिडियोमा लाखौँ भ्युज छ ।

रिदम एण्ड ब्लुज जनराको यो गीत आफूलाई धेरै मन पर्ने भएकोले यसैमा भिडियो बनाएको उनले बताए । भविष्यमा फिल्म क्षेत्रमा काम गर्ने उद्देश्य भएकोले आफैले मोडल भएर खेलेको पनि उनले बताए ।

यो गीतमा आकाशले मोडलका रूपमा मात्र काम गरेका छैनन्, यसको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् । कलेजकै आफ्ना साथी अमेरिकी युवा रायन वेक्सलरले यो भिडियोको निर्देशन गरेका हुन् । त्यस्तै ज्याक निल र मारियो एन्ड्रेले भिडियोको सह निर्देशन गरेका छन् ।

लस एन्जलसको चाइना टाउनमा तीन दिन लगाएर भिडियोको सुट गरिएको आकाश बताउँछन् । उनी भन्छन्, “तीन दिनको मेहनतबाट एउटा राम्रो भिडियो बनाउन सकेकोमा म खुसी छु ।” आकाशले र्‍यापर ब्याड बन्नी र गायक स्नूप डगको भिडियोमा पनि काम गरिसकेका छन् । यसका अतिरिक्त उनले लस एन्जलस र वरपरका सहरहरूमा हुने विज्ञापन र कमर्सियल कार्यक्रमहरूमा मोडलको रूपमा काम गर्दै पनि आइरहेका छन् ।

२२ वर्षका आकाश बलिउडको सपना देखि रहेका छन्, उनको शरीर पनि निकै फिट छ, कलाकारिता क्षेत्रमा केही गरेर देशको नाम राख्ने चाहना उनको मन भित्र रहेका पनि उनी बताउँछन् । १६ वर्षको उमेरमा परिवारसँगै अमेरिका आएका आकाश अहिले यहाँ कम्प्युटर साइन्स पढ्छन् । आकाशले सानैदेखि सङ्गीतमा रुचि राख्ने र नाच्न अनि अभिनय गर्न मन पराउने गरेको उनका बुबा कृष्ण देवकोटा बताउँछन् ।

आकाशको चाहना र उद्देश्य भनेको हलिउडमा प्रवेश गर्ने र त्यहीँ जम्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu