बाबासँग रोएर अभिनयमा आएँ: अशिष्मा नकर्मी



ashishma-nakarmiपाँच बर्षसम्म अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएकी नायिका अशिष्मा नकर्मी यतिबेला व्यस्त हुन थालेकी छिन्। केहि साता अघि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अन्तराल’ बाट नेपाली सिनेमामा उदाएकी नकर्मी १६ बर्षको उमेरदेखी कला क्षेत्रमा छिन्। अशिष्मा संगीतकार मनराजा नकर्मीकी सुपुत्री हुन्। उनले अब छिट्टै अमेरिकाबाट बन्न लागेको ‘राघव’ र अर्को एक चलचित्रमा पनि काम गर्दैछिन्। नेपाली सिनेमामा नै रमाउनको लागि नेपाल फर्केकी नायिका अशिष्मा नकर्मीसँग ठूलोपर्दा डटकमका जिवन पराजुलीले गरेको कुराकानीको संपादित अंश:

१.    अमेरिका पुगिसकेकी मान्छे किन नेपाल आउनु’भो ?
मैले सँधै भन्ने गरेको छु, आफ्नो घर पुरानो हुँदैमा अर्काको महलमा सँधै बस्नु हुँदैन। नेपाल भनेको हाम्रो घर हो। जहाँ पुगेपनि केहि कुरा सिकेर, जानेर नेपाल नै फर्कनु पर्छ भन्ने मेरो धारणा हो।

२.    मिस साउथ एशियाको सेकेण्ड रनरअप पनि बनिसकेकी मान्छे। अमेरिकामा पनि थुप्रै अवसर थिए। ति सबै कुरा त्याग्नुको कारण के ?
अमेरिकामा रहँदा पनि अवसर आएका थिए। केहि म्यूजिक भिडियो पनि गरेँ। मिस साउथ एशियाको सेकेण्ड रनरअप पनि बने। तर पनि मलाई नेपाली चलचित्रले तान्यो किनभने पहिले देखी नै इच्छा थियो। त्यसो त मैले नेवारी (नेपाल भाषा) चलचित्र पनि गरेकी थिए। म हाई स्कूलमा पढ्दा देखी नै काम चाहिँ गरेकी हुँ। अबको समय अनुकुल समय हो। स्नातक अध्ययन सकिसकेँ। अब किन नेपाली चलचित्रमा केहि नगर्ने त भन्ने सोच मेरो हो। अहिले जे गरिरहेकी छु राम्रै गरिरहेकी छु। राम्रा चलचित्रहरु बन्ने क्रममा छन्।

३.    कतिवटा नेवारी चलचित्रमा अभिनय गर्नुभएको थियो ?
आठ वटा।

४.    आठ वटा…! बाल कलाकार त होईन नी ?
हा.. हा.. हा.. ! होईन-होईन। १६ बर्षकी थिएँ मैले चलचित्रमा अभिनय थाल्दा।

५.    तपाईँको बुवा (मनराजा नकर्मी) एक प्रखर संगीतकार हुनुहुन्छ। बुवाको साथ कत्तिको छ यो क्षेत्रमा ?
एकदम धेरै छ। खासमा बाबाले चाहिँ पहिले मैले गीत गाओस अथवा गायिका बनोस् भन्ने चाहनुहुन्थ्यो। त्यसकारण मैले सितार पनि सिकेँ। एस.एल.सी.को समयमा मैले पढाई बाहेक अन्त कतै समय दिन सकिन, सितार छोड्नुपर्यो। सबैभन्दा पहिलो म्यूजिक भिडियो गर्दा म रोएकी थिएँ। मैले रोएरै जिद्दी गरेपछि बाबाले साईड डान्सरको रुपमा काम गरेँ। त्यो सानो उमेरमा मलाई रुनु कुनै ठूलो कुरा थिएन। त्यो काम मन पराएर अरुले अफर गर्नुभयो। बाबाले यति सपोर्ट नगर्दिनु भएको भए आज म यो स्थानमा हुने थिइन।

६.    अन्तराल पछिको दर्शक प्रतिक्रिया के छ ?
धेरैले राम्रो भन्नु भएको छ। मैले जति पनि सुनेको छु राम्रै सुनेको छु। एउटा राम्रै छाप छोडेकी छु जस्तो मलाई लाग्छ। त्यो मेरो चलचित्रमा समावेश ‘क्यारेक्टर’ले पनि दियो। ‘सिम्पल क्यारेक्टर’ थियो। फिल्ममा पहिलो पटक जस्तो देखियो धेरैले त्यस्तै सोच्नुहुन्छ, त्यसैले मेरो ‘क्यारेक्टर’ले मलाई सहयोग गर्यो। मैले धेरै काम नगरेको भएपनि जति गर्यौ धेरै राम्रो गर्यौ भन्ने प्रतिक्रिया छ।

७.    एउटै मात्र ‘क्यारेक्टर’ गर्नुपर्छ भन्ने छ र ?
त्यो छैन। संयोगवश मैले तीनवटा नेपाली चलचित्र (अन्तराल, तोरी लाहुरे, सिक्स फिट लाईफ) गरेँ। तीन वटामा नै मेरो भुमिका एकदम सामान्य, सोझो, ज्ञानी पर्न गयो। कतिले त मलाई तिम्रो अनुहारले पनि अन्य भुमिका दिँदैन भन्छन्। त्यहि भएर पनि हुनसक्छ यस्तै-यस्तै अफर आएका छन्।

८.    नेपाल आएपछि के-के हात लाग्यो र के-के गुमाउनुभयो ?
आउने बेला हल्का डर चाहिँ थियो। काम गर्नु अघि डर पलाउने रहेछ। काम पाउँछु पाउँदिन, मलाई रुचाईन्छ या रुचाईदैन, मैले काम गर्न सक्छु सक्दिन भन्ने थियो। तर, यहाँ आएँ, मैले लगातार काम पनि पाएँ, मेरो काम तथा बानी सबै रुचाईदिनुभयो। मैले सोचे भन्दा धेरै नै पाएँ। सोचे भन्दा धेरै नै खुशी छु।

९.    मिस साउथ एशियाको सेकेण्ड रनरअप हुँदा आफु के रहेछु जस्तो लागेको थियो ?
भारतिय हरुले गरेको हो मिस साउथ एशिया। साउथ एशियनहरुलाई समेटेर प्रतियोगिता गर्ने भनेर अमेरिकामा प्रचार-प्रसार भईरहेको थियो। मैले नेपालीले सहभागिता जनाउँदैछन् भनेर कतैबाट सुनिन। म मा त्यो स्थानसम्म पुग्ने योग्यता छ भनेर चाहिँ गएको थिइन। कोही पनि नेपाली नभएकोले एकजना त जानैपर्छ भन्ने सोचाई आएर मैले भाग लिएकी थिएँ। पछि थाहा भयो त्यहाँ अन्य दुईजना नेपाली पनि सहभागि हुनुहुँदो रहेछ। एकजना चाहीँ मिस साउथ एशिया टिनको लागि हुनुहुन्थ्यो भने अर्की एकजना चाहीँ मिस साउथ एशियाकै लागि। यि दुवै प्रतियोगिता सँगै भएका थिए। हामी तीनै जना खाली हात फर्किनु परेन।

१०.    अमेरिकामा बसेर के अध्ययन गर्नुभयो ?
प्लस टु पछि लहै-लहैमा म त्यता गएकी हुँ। खासमा म ‘सोसियल वर्क स्टडी’ गर्छु भनेर गएकी थिएँ। त्यहाँ गईसकेपछि सबैले नर्सिङ् पढ्नुपर्छ भन्नुभयो। पढेँ तर म सक्षम थिइन। पछि मैले हस्पिटालिटी अध्ययन गरेँ।

११.    नेपाली चलचित्रको विकृतीलाई के भन्नुहुन्छ ?
चलचित्र त जस्तो पनि बन्नुपर्छ। चलचित्रको बिषयलाई विकृती भन्दिन मैले तर प्रस्तुत गर्ने शैली हुनुपर्छ। सिनेमा ग्रेडिङ् हुनैपर्छ। कुन चलचित्र कसरी हेर्ने, कुन हेर्दा के पाईन्छ भन्ने कुरा दर्शकलाई थाहा हुनु जरुरी छ।

१२.    अशिष्मा नेपाली चलचित्रमा टिक्न सक्ने आधारहरु के-के हुन् ?
सबैभन्दा पहिला त मैले नेपाली सिनेमामा केहि गर्नुछ भनेर ‘इनर्जी’ बोकेर आकी छु। त्यसपछि म मेहनत गर्दैछु, सिक्दै छु र चलचित्र मेरो चाहना हो।

१३.    काम गर्दा सबैभन्दा नजिक लागेको व्यक्ति को हो ?
अन्तरालमा काम गर्दा नम्रता सापकोटासँग निकै सहकार्य भयो।

१४.    नायिका बनेपछि सामाजिक प्रतिक्रिया के छ ?
एकदमै इज्जतका साथ हेर्नुहुन्छ सबैले। नेपाली कला क्षेत्रमा म चौँथो पुस्ता हुँ। मेरो बाबा र हजुरबाबाको ठुलो इज्जत छ यो क्षेत्रमा। आफन्तबाट पनि सल्लाह सुझाब पाईरहेकी छु। नराम्रो फिल्म नखेल, काम राम्रो गर भनेर हौसला दिनुहुन्छ। म आजको दिनसम्म निकै खुशी छु। मैले सोचेको भन्दा धेरै खुशी पाएकी छु समाजबाट पनि।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu