
काठमाडौं। काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि चलचित्र विकास बोर्डले वन क्षेत्रको जग्गाको स्वामित्व पाएको छ । बिहीबार साढे दुई हेक्टर वन क्षेत्रको जग्गा बोर्डको नाममा प्राप्त भएको बोर्ड अध्यक्ष भुवन केसीले बताए ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बोर्ड अध्यक्ष केसीलाई उक्त जग्गाको कागजात हस्तान्तरण गरेका हुन् । नेपाल सरकारले असार २६ गते सो जग्गा बोर्डको नाममा नामसारी गर्ने निर्णय गरेको थियो । यसको कार्यान्वयन बिहीबार भएको हो ।
योसँगै सरकारी स्तरबाट नेपालमा पहिलो पटक अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य प्रारम्भ भएको अध्यक्ष केसीले बताए । “चलचित्र क्षेत्रको लागि आजको दिन ऐतिहासिक दिनको रूपमा लिएको छु । अब छिट्टै नै चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य अघि बढ्नेछ । चलचित्र क्षेत्रको विकासका लागि नेपाल सरकारले लिएको अपनत्व सह्रानीय छ। आगामी दिनमा पनि नेपाल सरकारको चलचित्र क्षेत्रलाई सहयोग र साथ मिल्नेछ । यसका लागि नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,” अध्यक्ष केसीले बताए ।
अनुदानको बजेटबाट दुई करोड र आन्तरिक बजेटबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरी टेन्डर आह्वान गरिने बोर्ड श्रोतले बताएको छ । यसको डीपीआर तयार भइसकेको छ भने करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।