लिच्छवि हाउसमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी (फोटो फिचर)



काठमाडौं। विश्व चर्चित आठ जना कलाकारले ‘अनिच्च’ शीर्षकमा साता लामो कला प्रदर्शनी सुरु गरेका छन्। काठमाडौंको बौद्धस्थित लिच्छवि हाउसमा आयोजित प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारहरूको सहभागिता रहेको छ। चैत ११ देखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्नेछ ।

क्यानडाली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा स्थानीय र अन्तर्राष्ट्रिय कलाकारको जमघट चलिरहेको छ। प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तरक्रियात्मक सत्र समावेश छन्। विश्व चर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बुले कला प्रदर्शनीको शुभारम्भ गरेका थिए।

“प्रियजनको मृत्यु, ऋतुहरूमा परिवर्तन, छिनछिनमै बदलिइरहने आफ्नै मनस्थिति, विश्वव्यापी जलवायु परिवर्तन आदि अनित्यका बलिया बिम्ब हुन्,” क्युरेटर क्रो भन्छिन्, “मलाई आशा छ यो प्रदर्शनीले विविध कलाको सम्मिश्रणमार्फत जीवन र जगतको जटिलतालाई सरल अभिव्यक्तिमा बताइदिनेछ।” प्रदर्शनी आयोजना गरिएको लिच्छवि हाउस आफैमा क्युरेसनको अंश भएको उनको भनाई छ।

प्रदर्शनी आयोजना गरिएको स्थलको महत्त्व दर्साउँदै क्रो भन्छिन्, “कुनै समय बाँझो मैदान रहेको ठाउँमा पुराना भवनका भग्नावशेष पन्छाएर जग बसालिएको लिच्छवि हाउस अहिले रूपान्तरणको अवस्थामा छ । जहाँ अलि पहिले एक हिप्पी रेस्टुरेन्ट थियो । चाँडै अब समकालीन संस्कृतिको केन्द्र बन्दैछ ।”

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कला शैली देखाउन पाउँदा आफूहरू उत्साहित रहेको बताइन् । “यहाँ समावेश हुने प्रत्येक कलाकृतिले जीवन सधैँ कसरी परिवर्तन भइरहेको हुन्छ भनेर गहन र व्यापकरुपमा प्रस्तुत पनि गरेको छ,” उनले भनिन् ।

कला प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन्। भ्रमादेव पुष्पा बहुमुखी कलाकार हुन् जो एकैसाथ फिल्म निर्माण, गार्मेन्ट डिजाइन र फोटोग्राफी शिल्पमा प्रसिद्ध छिन्। उनका सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर फिल्म, फेसन र श्रव्य दृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्बित गर्छ।

रोड आइल्याण्ड स्कुल अफ डिजाइनबाट औद्योगिक डिजाइन तथा कला र वास्तुकलामा स्नातक चार्वेई साई फ्रान्सको राजधानी पेरिसमा बस्छिन् र त्यहाँ क्रियाशील छिन्। भौगोलिक, सामाजिक र आध्यात्मिक आकृतिहरू उनको सिर्जनाका मूल विशेषता हुन्। उनले हालै रिइम्याजिन आर्ट नाउ, न्यूयोर्कको रुबिन आर्ट म्युजियम, ग्वाङ्जु बिएनाले लगायतमा कला प्रदर्शनी गरेकी छन्।

डायलाइस्ट एक चिनियाँ ग्राफिटी कलाकार हुन् जसले सहरी कलामा आफ्नो ठाउँ भेट्टाए। अहिले नेपालमा बसेर उनले ग्राफिटीमार्फत कलाको अन्वेषण गरिरहेका छन्। प्रदर्शनीकी क्युरेटर समेत रहेकी एमिली एभरी योशिको क्रो अमेरिकाको कोलोराडोमा जन्मिएकी कलाकार हुन् । उनी पानीरङ, प्राकृतिक मूर्तिकला, कपडा, एनिमेसन र फिल्म निर्माण डिजाइनमा काम गर्छिन्। उनको कला धार्मिक मूर्तिकलासँग सम्बन्धित छ जसले वर्तमान समयमा मिथक र रहस्यमय कल्पनालार्ई पुर्न परिभाषित गर्छ।

खिन्से नोर्बुका फिल्महरू ‘हेमा हेमा’, डाकिनी, पिग एट द क्रसिङमा उनी आर्ट डिजाइनरको रूपमा थिइन् । भारतीय कलाकार गौरी गिलले भारत र अन्तर्राष्ट्रिय रूपमा प्रशस्तै कला प्रदर्शनी गरिरहेकी छन्। भुटानका कर्मा वाङ्चुक कलाकारको साथै स्वतन्त्र फिल्म निर्माता पनि हुन्। उनको प्रयोगात्मक छोटो फिल्म ‘द मंक इन द फरेस्ट’ सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो।

लण्डनलाई कर्मथलो बनाएकी लुसिन्डा कामेन दृश्य कलाकार हुन्। काठमाडौंमा जन्मिएकी महिमा सिंह दृश्य कलाकारसँगै कला शिक्षक समेत हुन्। भिजुअल र प्रदर्शनी कलामार्फत सामाजिक रीतिरिवाजलाई चुनौती दिने प्रयत्नमा उनी छिन्। 

फोटो फिचरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu