मध्यरातसम्मै हलमा ‘महाजात्रा’, शो थप गरी चलाइयो



काठमाडौं। दोस्रो सातामा प्रदर्शनरत नेपाली चलचित्र ‘महाजात्रा’ मध्यरातसम्मै हलमा बसेर दर्शकले हेरेका छन्। विश्वभर आक्रामक व्यापार गरिरहेको यो चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेपछि काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा मध्यरातमा पनि शो राखी प्रदर्शन भएको हो।

दर्शकले माग गरेपछि १०:३० बजेको शो थपिएको थियो। उक्त शो सकिदा १ः३० बजेको थियो । राति अबेरसम्म दर्शक हलमा भएपछि कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले हल पुगेर भेटेका थिए। उनले दर्शकले देखाएको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए।

“हाम्रो फिल्मलाई माया गरेर राति अबेरसम्म दर्शक हलमा देख्दा निकै खुसी लागेको छ। थप खुसी उहाँहरू फिल्म हेरेर निस्किँदै गर्दा दिने प्रतिक्रियाले दिन्छ। उहाँहरूले हामीलाई भेटेर आशीर्वाद दिनुभएको छ, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिनुभएको छ”, अभिनेता बानियाँले भने। उनले विद्यार्थीको विभिन्न तहको परीक्षा सकिँदै गर्दा दर्शक चाँप झनै बढिरहेको बताए ।

चैत ९ गतेदेखि प्रदर्शनरत यो चलचित्र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्व रानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन्। प्रदीप भट्टराईले निर्देशन गरेको  यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu