‘घरज्वाइँ’को अफिसियल पोस्टरमा प्रेमिल देखिए दया र मिरूना



काठमाडौं। नेपाली चलचित्र ‘घरज्वाइँ’का दुई अफिसियल पोस्टर सार्वजनिक भएका छन्। निर्देशक अनिल बुढा मगरले सामाजिक सञ्जालमार्फत पोस्टर शेयर गर्दै असार २८ गते रिलिज हुने यो चलचित्र मगर समुदायको सामाजिक दृष्टिकोण जोगाई रहेका ‘भान्ज’हरूलाई समर्पित गरेको जनाएका छन्।

उनले लेखेका छन्, “मगर समुदायको संस्कृति र सभ्यतालाई अपनत्व गर्दै सामाजिक दृष्टिकोण जोगाई रहेका ‘भान्ज’ अर्थात् ‘ज्वाइँ’हरू प्रति समर्पित ‘घरज्वाइँ’ चलचित्रको पोस्टर आज देखि तपाईँहरूको भयो । बिन्जुरी फूल झैँ मायाले भरिएको सकारात्मक पक्ष र नकारात्मक दुवै खालका भव्य प्रतिक्रिया सुन्नलाई ‘घरज्वाइँ’ टिम आतुर छौँ।”

एक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर बोरा बोकिरहेका छन्। चलचित्रमा दयाले मिरूनाको पिताको घरमै बसेर घरज्वाइँको भूमिका निभाइरहेका छन्। यसअघि सार्वजनिक भएको क्यारेक्टर पोस्टरमा दया र मिरूनाको सामाजिक स्थिति दर्साइएको थियो, जहाँ एउटा डोको बोकेकी मिरूनाको पछि तीन वटा डोको बोकेका दयाहाङ थिए। जहाँ मिरूनालाई प्राप्त गर्न दयाले सामाजिक सङ्घर्ष गरिरहेका थिए। नयाँ पोस्टरमा भने दुवै कलाकार प्रेमिल देखिन्छन्।

अर्को पोस्टर भने परम्परागत रूपमा तयार पारिएको छ। पोस्टरमा दया र मिरूनालाई प्रमुख पात्र बनाउँदै अन्य सबै कलाकारहरूलाई स्थान दिइएको छ। यद्यपि महिलाको सङ्घर्ष यो पोस्टरमा देखिन्छ। दुवै पोस्टर राकेश दाहालले डिजाइन गरेका छन्।

जनक घर्ती मगर निर्माता रहेको यस चलचित्रमा पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, कविता आले, बुद्धि तामाङ, खड्क बहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, विना थापामगर, सोनाम लामा, विवेश बुढा मगर आदिको पनि अभिनय छ। चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu