चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत, भूमिका के हो ?



काठमाडौं। सरोज पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक तथा अभिनेता प्रकाश सपुतले अभिनय गर्ने भएका छन्। यस चलचित्रमा उनको भूमिका प्रमुख मध्ये एक नै रहेको निर्देशक पौडेलले बताए।

यो चलचित्रमा अन्य दुई कलाकारको पनि प्रमुख भूमिका रहने बुझिएको छ। कलाकारहरूसँग सम्झौता नभइसकेकोले सबै प्रक्रिया पुरा भएपछि जानकारी दिने चलचित्रका निर्माता विनोद पौडेलले बताए।

यो चलचित्रलाई महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन्। यसको कथा भने निर्देशक पौडेलको नै हो। यस चलचित्रमा गाउँ गाउँ सारङ्गी बजाउँदै गीत गाउँदै डुलिहिँड्ने गन्धर्वको कथा देखाइने छ। चलचित्रका लेखक दवाडीले सारङ्गीबाट समाजलाई सुसूचित र मनोरञ्जन प्रदान गर्ने एक पात्र पूर्णबहादुरको आँखाबाट बदलिँदो समाजको आयामलाई केलाउने जमर्को गरेको बताए।

चलचित्र वि.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। चलचित्रलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहेको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो। यसमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रूपमा छन् भने रमेश चौलागाईँ र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा अभिनय गर्ने अन्य केही कलाकारहरूसँग सम्झौता भइसकेको बुझिएको छ। यस चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटीले सङ्गीत दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu