मैथिली चलचित्र ‘लेबर’ घोषणा, नेपाली र भोजपुरी भाषामा पनि रिलिज हुने



काठमाडौं। श्रमिक र सरकार बिचको कथा भन्ने मैथिली चलचित्र ‘लेबर’ घोषणा गरिएको छ। ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराका साथ विश्वभर मनाइएको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा पुर्णेन्दु के झाले निर्देशन गर्ने यो चलचित्रको घोषणा गरिएको हो।

यो चलचित्र पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्रालिले संयुक्त निर्माण गर्नेछन्। यसमा बिदेसिन बाध्य नेपाली र बिदेसिन बाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने सुनधारास्थित सिडिसी सिनेमा हलमा आयोजित कार्यक्रममा बताइयो।

’हाम्रो देशबाट श्रमिकको रूपमा बिदेसिनेको सङ्ख्या धेरै छ। उनीहरूको आ–आफ्नै कथा छ। ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्‍याउनु पर्छ भन्ने लागेर हामीले चलचित्र निर्माण गर्दै छौँ’, निर्देशक झाले भने।

उनले यो चलचित्रलाई प्राथमिक रूपमा मैथिली भाषामा तयार गर्दै छन् भने नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन हुनेछ। ‘हामीले बाहिर त बजार बनायौँ तर नेपालमै मदेसमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन् । यस कारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, मैथिलीमा फिचर चलचित्र बनाउने प्रयासबारे उनले भने।

यस चलचित्रमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारी लगायतका कलाकार तय भइसकेको बताइएको छ। कार्यक्रममा यी कलाकारहरूले अभिनय गरेको टिजर समेत देखाइएको थियो, जसलाई युट्युबमा समेत अपलोड गरिएको छ।

सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको चलचित्रलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन्।

यसमा प्रवेश मल्लिकको सङ्गीत तथा पार्श्व सङ्गीत रहनेछ। हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, मल्लाज अडियो वर्क्सको साउन्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहनेछ। यसको डिजिटल पार्टनरको रूपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथिली भाषाको लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ। चलचित्र सन् २०२४ को डिसेम्बरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu