नीलकण्ठ सुवेदीको कवितासङ्ग्रह ‘मुग्लानबाट देश नियाल्दा’को दोस्रो संस्करण लोकार्पण



काठमाडौं। कवि, साहित्यकार तथा गीतकार नीलकण्ठ सुवेदीको कवितासङ्ग्रह ‘मुग्लानबाट देश नियाल्दा’को दोस्रो संस्करण लोकार्पण गरिएको छ। वि.सं. २०६० देखि संयुक्त राज्य अमेरिका बस्दै आएका सुवेदीले बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कवितासङ्ग्रह विमोचन गरेका हुन्।

सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनको प्रमुख आतिथ्यमा विमोचित कवितासङ्ग्रहमा ५९ वटा कविता प्रकाशित छन्। यो कवितासङ्ग्रहलाई राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो।

यस सङ्ग्रहमा प्रवासमा रहेर महसुस गरिएका देश प्रतिका भावनाहरू र देशभित्र भोगिने यथार्थहरूलाई आधार मानी रचिएका कविताहरू राखिएको छ। यो सङ्ग्रहको प्रथम संस्करण वि.सं. २०७७ मा प्रकाशन भएको थियो। केही कविताहरू थप गरी दोस्रो संस्करण प्रकाशन गरिएको कवि सुवेदीले बताए।

विमोचन कार्यक्रममा डा. सत्यमाया गिरीले कवितासङ्ग्रहको समीक्षा गरेकी थिइन् भने तीन महिला साहित्यकारहरूले एक-एक वटा कविता वाचन गरेका थिए। सो कार्यक्रममा नेपाली मूलका बङ्गलादेशी साहित्यकार मनोज गोर्खाको पनि उपस्थिति थियो। गोर्खाले नेपाली भाषा र साहित्यलाई विश्वभर प्रचार गर्न आफू सक्रिय रहेको बताए। उनी भन्दा अगाडीका सातौँ पुस्ता नेपालबाट बङ्गलादेश पुगेका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष राजेन्द्र केसीले ‘मुग्लानबाट देश नियाल्दा’मा रहेका सबै कविताहरू स्तरीय रहेको टिप्पणी गरे।

सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले कवि सुवेदीले मुग्लानबाट आफ्नो मातृभूमि प्रतिको चिन्ता झल्किने कविताहरू लेखेको पुस्तक प्रकाशन हुँदा राष्ट्र प्रेम र स्वदेश प्रतिको माया झल्किएको बताए। “यस कवितासङ्ग्रमा मातृभूमि, राष्ट्र र राष्ट्रियता प्रतिको अगाध श्रद्धा मैले पाएँ, सरल र परिष्कृत भाषा शैलीमा श्रमजीवीहरू प्रतिको सद्भाव र अस्तित्वको खोजी पनि मैले पाएँ। त्यस्तै, अन्याय, अत्याचार र सामन्तवाद प्रवृत्तिको विरोध, संस्कृति प्रतिको गहिरो चिन्तन, नेतृत्ववर्गलाई सुशासनको आह्वान पनि मैले कविताहरूमा पाएँ। सहिदको बलिदानको सम्मान हुनुपर्दछ भन्ने चिन्तन तथा नारीवादी चिन्तन पनि यी कविताहरूमा मैले पाएँ,” पुनले कार्यक्रममा बताए। उनले आफू पनि साहित्य प्रेमी भएको बताउँदै नेपाली साहित्यको विश्वव्यापी प्रचारको अभियानमा साथै रहेको जनाए।

कवि नीलकण्ठ सुवेदीले देशमै बसेर सेवा गर्ने इच्छा हुँदा हुँदै पनि परिस्थितिले अमेरिका जानुपरेको बताउँदै त्यहाँ पुगेर पनि व्यस्त समयको बाबजुद सृजनामा लागिरहेको कारण यो कवितासङ्ग्रह तयार भएको बताए। १५ वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा रहेर काम गर्दा आफ्नो साहित्यतर्फको रुचिले मूर्तरूप पाएको सुवेदीले बताए। उनले केही गीतहरू समेत रचना गरेका छन्।

राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले ‘मुग्लानबाट देश नियाल्दा’को प्रथम संस्करण मुग्लानतिरै अल्झेको महसुस भएको बताउँदै यो सङ्ग्रहलाई पुनः प्रकाशनको जिम्मेवारी प्रतिष्ठानले लिएको बताए। यो सङ्ग्रह अब मुग्लानमा मात्र नभई नेपालमा पनि रहेको उनले बताए। यसको प्रथम संस्करण अनेसासले प्रकाशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu