काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘मनसरा’को भव्यताका साथ प्रिमियर गरिएको छ। बुधवार ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा सेलिब्रेटी, शुभचिन्तक र पत्रकारको उपस्थिति रहेको थियो।
निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लव प्रतीक, गायक तथा सङ्गीतकार काली प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, परीक्षा लिम्बु लगायत हल पुगेका थिए।
चलचित्र हेरेका अधिकांशले नेपाली चलचित्रमा साहित्य जरुरी छ भन्ने प्रमाणित भएको बताएका छन्। निर्देशक उपेन्द्र सुब्बाको काम र सिनेमाको प्रस्तुतीकरण उत्कृष्ट रहेको बताइएको छ।
प्रिमियरमा उपस्थित पाहुनाले निर्देशक सुब्बासँगै अभिनेता प्रवीण खतिवडाको अभिनयको तारिफ गरेका छन्। यो चलचित्र पश्चात् खतिवडाको करियरले फड्को मार्ने विश्लेषण गरिएको छ। अभिनेत्री मिरुना मगर, मेनुका प्रधान र सिनेमामा तान्छोको रूपमा काम गरेका बाल कलाकारको अभिनयको पनि प्रशंसा भएको छ।
यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन्।