गाउँको मात्र कथा हो भन्ने बुझाई गलत हो, लन्डन टु पेरिस पनि हाम्रै कथा हो: निर्देशक लामिछाने



काठमाडौं। चलचित्रहरू ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ विशुद्ध नेपाली परिवेशमा बनाएका निर्देशक घनश्याम लामिछाने यस पटक भने थोरै पर पुगेका छन्। उनले निर्देशन गरेको चलचित्र ‘लन्डन टु पेरिस’ बेलायतमा छायाङ्कन गरेका छन्। फ्रान्सका केही दृश्यहरू भने उनले भारतको मुम्बईमा सेट लगाएर छायाङ्कन गरे।

निर्देशक लामिछानेले यो चलचित्र विदेशी भूमिमा छायाङ्कन गरिए पनि त्यसको कथावस्तु भने नेपाली परिवेशकै रहेको दाबी गर्छन्। उनी भन्छन्, “लन्डन टु पेरिस हाम्रै नेपाली डायस्पोराको कथा हो। यो लन्डनमा बस्ने नेपाली युवाको कथा हो। हाम्रो बुझाइमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो। शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौँ। बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो।” उनले मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भन्ने ठानेर यो चलचित्रको कथा रोजेको जिकिर गरे, “मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदै छु।”

यस चलचित्रका हरेक पात्रसँग दर्शकले आफूलाई ‘रिलेट’ गराउन सक्ने विश्वास लामिछानेको छ। “चलचित्रको कथा यति ‘पावरफूल’ छ कि दर्शकलाई त्यसले ‘कनेक्ट’ गर्न सक्छ। हामीले सिनेमाको कथा भन्दा पर गएर खिचेका छैनौँ। जे चाहिने हो त्यही खिचेका छौँ,” उनले भने। यद्यपि उनले यो चलचित्र केही मात्रामा ‘लार्जर देन लाइफ’ रहेको स्विकारे। “अहिले हामी एउटै ‘फ्लेभर’का चलचित्र हेरेर दिक्क भइसकेका छौँ। त्यस कारण दर्शकलाई ‘लन्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ। रियालिटी त हो तर, थोरै फिल्मी बनाएको छु,” घनश्यामले भने।

यो चलचित्रले ‘ट्राभल लभस्टोरी कथा पेस गर्छ। यसको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका छन्। साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। यो चलचित्र यसै साता रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu