चलचित्र बनाउँदा आदिवासी जनजातिहरूको भावनामा ठेस पुग्नु हुँदैन: राई



बुटवल। चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्द्धन समिति’का संयोजक ज्योतिराज राईले चलचित्र निर्माण गर्दा आदिवासी जनजातिहरूको भावनामा ठेस लाग्ने, उनीहरूको भाषा कला, साहित्य र संस्कृतिमा आँच आउने कुरामा ध्यान दिनुपर्ने बताएका छन्।

शनिवार बुटवलमा मातृभाषा चलचित्र प्रवर्द्धन समिति आदिवासी र जनजाति चलचित्र महासङ्घको आयोजना र मगर चलचित्रकर्मी सङ्घ रुपन्देहीको सह आयोजनामा आयोजित ‘मातृभाषा चलचित्रको निर्माण प्रवर्द्धन बजारीकरण’ विषयक अन्तर्क्रियामा बोल्दै राईले यस्तो धारणा राखेका हुन्। उनले चलचित्र मार्फत नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण हुने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले आदिवासी जनजाति चलचित्रहरू फेस्टिभल र च्यारिटीमा मात्र सीमित नभएर अन्य चलचित्रहरूसँग पनि प्रतिस्पर्धामा जान सक्षम रहेको बताए। उनले आदिवासी र जनजाति चलचित्रको प्रवर्द्धनको लागी समिति गठन भइसकेकोले आगामी दिनमा चलचित्रको बजारीकरण सहज हुने दाबी गरे।

सो कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासङ्घका अध्यक्ष पुर्खाजीत राईले आदिवासीहरू नेपालका मूलवासी भएकाले आफूहरूको भाषा नै नेपालको मूल भाषा भएको बताए। उनले आदिवासीका भाषामा बनेका चलचित्रहरूलाई विश्व बजारमा पुर्‍याउने काम महासङ्घको रहेको बिचार राखे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu