
काठमाडौं – चर्चित नेपाली गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।
गायिका चौहानले आफ्नो फिराद पत्रमा पति विष्णु सापकोटाले आफू कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ ढिलोसम्म बस्नुपर्ने हुँदा शङ्का उपशङ्का गर्ने र कार्यक्रमको बीचमै फोन गरेर तुरुन्त घर आउन दबाब दिने गरेको उल्लेख गरेकी छन् । यसले आफ्नो काममा बाधा पुगेको र मनमुटाब हुने गरेको उनको भनाई छ ।
पतिसँग तीन महिनाको अस्ट्रेलिया बसाइपछि नेपाल फर्किएपछि पनि आफू कलाकारिताको क्षेत्रमा व्यस्त हुँदा पतिले आफ्नो चरित्रमाथि शङ्का उपशङ्का गरेको र मानसिक कष्ट दिएको उनले बताएकी छन् । आफू र पतिको सम्बन्ध सुमधुर नरहेको र भावनात्मक रूपमा सम्बन्ध कहिल्यै हुन नसकेको उनको जिकिर छ ।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन चाहेको उनले फिराद पत्रमा उल्लेख गरेकी छन् । उनले पतिबाट अंश तथा माना चामल नलिने र आफूसँग भएका गरगहना तथा सम्पत्ति पनि नदिने गरी सम्बन्ध विच्छेद गर्न अदालतसमक्ष अनुरोध गरेकी छन् ।