
काठमाडौं – पछिल्लो समय नेपालमा रियालिटी शोहरुको सङ्ख्या बढ्न थालेको छ । दर्शकको चासो पनि रियालिटी शो प्रति बढ्दो छ । सोमवार ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा गरेको छ ।
बानेस्वरमा रहेको घराना लाउन्ज एन्ड बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । घोषणा कार्यक्रममा रियालिटी शो ‘कमेडी किड्स’ को लोगो सार्वजनिक गरिएको छ ।
बालबालिकाहरूलाई लक्षित गरी निर्माण गरिने शोमा चार देखि १४ वर्ष सम्मका बालबालिकाहरूले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए । फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुल्ला गरिने पनि उनले बताए । सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ ।
डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनरमा ओएसआर कनेक्टसँग सम्झौता भएको छ । शो प्रसारण हुने टेलिभिजन तय हुन बाँकी रहेको बताइएको छ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।