जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा



ललितपुर – नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने, बजार प्रवर्द्धन गर्ने, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIIF) आयोजना हुने भएको छ । मङ्गलवार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै संवाद फाउन्डेसनले आगामी फागुन १६ देखि १८ गतेसम्म जनकपुरमा महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले नेपाली र मिथिला चलचित्रलाई विश्वमा बजारीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, “जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । विश्वका एक सय ३७ भन्दा बढी देशले हाम्रो चलचित्रका बारेमा थाहा पाउनेछन् ।” अध्यक्ष डिसीले पैसा कमाउने उद्देश्य राखेर महोत्सव गर्नु उचित नहुने भन्दै यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई अन्य क्षेत्रको बजेट कटौती गरेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली चलचित्र निर्माणको प्रक्रिया बदलिनुपर्नेमा जोड दिए । उनले चलचित्र कता कता एकाङ्गी पो छ कि भन्ने लागेको छ र फरक भूगोल, फरक विषयको चित्रण गर्ने परिपाटीको अभाव भएको महसुस गरेको जनाए । झाले जनकपुरमा हुने यो कार्यक्रमले नयाँपन खोज्ने विश्वास लिए ।

अभिनेत्री रेखा थापाले मिथिला सभ्यता, कला र महिलाको जननी भएको बताउँदै महोत्सवले त्यो महत्वलाई उजागर गर्ने बताइन् । “मधेसको कलासँग प्रगाढ सम्बन्ध छ। पछिल्लो समय हाम्रो संस्कृति र भाषामाथि आक्रमण भएको छ, यसलाई चिर्नु आवश्यक छ,” थापाले भनिन् ।

जेआइएफएफ नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu