
काठमाडौं – गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् । काठमाडौंमा आयोजना भइरहेको ‘ह्ववाइट हाउस लिटरेचर फेस्टिभल’मा प्रस्तुति दिनुअघि दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् ।
उनले भनिन्, ‘धोकेबाज मलाई भनेको कि गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ ।’ दर्शकले ‘धोकेबाज’ गीत वान्समोर भनेपछि उनले धेरैको प्रेममा धोका भएको छ कि ? भन्दै प्रतिप्रश्न गरेकी थिइन् । उनले विद्यार्थीलाई पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन् ।
उनले आफूलाई अहिलेको अवस्थामा ‘धोकेबाज’ गीत धेरै गाउन मन नभएको बताइन् । ‘भर्खर भर्खर ब्रेकअप भएको छ । यस्तो बेला धेरै पटक धोकेबाज गाउनु हुँदैन । मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन् । त्यसपछि उनले ‘के माया लाउँछ र’ गीत गाएकी थिइन् ।
यसका साथै उनले ‘तिम्रो मायाले बाँधेर राख’, ‘धोकेबाज’, ‘कट्टा हान्दिन्छु’, ‘रक्सी चुरोट छाड्न पाउन्नौ’, ‘मिनरल वाटर’ लगायत आधा दर्जन गीत गाएकी थिइन् ।
गायिका चौहानले हालै मात्र पति विष्णु सापकोटाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।