
काठमाडौं – सञ्चारकर्मी दीपक समीरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ शनिवार काठमाडौँमा विमोचन गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आयोजित एक समारोहमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान बल, साहित्यकार डा गीता त्रिपाठी र लेखक समीरले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।
विभिन्न समयमा लेखिएका कथाहरूलाई सङ्ग्रहित गरी पहिलो पटक पुस्तकको रूपमा ल्याएको लेखक समीरले बताए । उनले आफ्नो लेखन यात्रामा परिवारको सहयोग र आफ्नो लगनशीलताले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘मुना मदनको डिभोर्स पार्टी’ इन्डिगो इङ्कले प्रकाशन गरेको हो ।
पुस्तकको समीक्षा गर्दै साहित्यकार डा त्रिपाठीले लेखकको कल्पना शक्तिको प्रशंसा गरिन् र पहिलो प्रयास भएकाले केही कमजोरीलाई नजरअन्दाज गर्न सकिने बताइन् । उनले कथाहरूमा विविधता रहेको उल्लेख गरिन् ।
सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा विष्टले सञ्चार कर्मसँगै लेखकको रूपमा सुरु भएको यात्रालाई सन्तुलन मिलाएर अगाडि बढ्न समीरलाई शुभकामना दिए । उनले समीरका कथाहरूमा रोचकता र सामाजिक विकृतिलाई व्यङ्ग्य गर्नुका साथै सचेत गराउने सन्देश पनि रहेको बताए ।
कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका सदस्य बलले समीरलाई कुमार नगरकोटी शैलीको लेखकको रूपमा बुझेको उल्लेख गर्दै सानो कथानकमा कथा बुन्न सक्ने कथाकारको रूपमा प्रशंसा गरे । कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।