
काठमाडौं – नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तय गरिएको छ । निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन् । चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।
चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय रहेको छ ।
अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि. र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएको छ । यसमा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको सङ्गीत, सौरभ लामाको छायाङ्कन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व, रेनिश फागोको कलर, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ ।