‘वसन्त’को गीत ‘बिना स्वादैको’ गीत सार्वजनिक



काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको चलचित्र ‘वसन्त’को नयाँ गीत ‘बिना स्वादैको’ सार्वजनिक भएको छ । गीतमा गायक देवेन्द्र बब्लुको स्वर र परिकल्पना रहेको छ भने शब्द र सङ्गीत प्रकाश सपुत र देवेन्द्र बब्लुले संयुक्त रूपमा तयार पारेका छन् । 

यसको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी, गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विक र कलाकार विशाल पहारीको अभिनय देख्न सकिन्छ ।

हरर रोमान्टिक शैलीमा तयार पारिएको यो गीतको भिडियोले एक अन्तरजातीय जोडीको प्रेम र उनीहरूले भोग्नुपरेको सामाजिक चुनौतीलाई प्रस्तुत गरेको छ । परिवारले उनीहरूको प्रेमलाई स्वीकार नगर्दा उत्पन्न हुने घटनालाई गीतले मार्मिक ढङ्गले चित्रण गरेको छ ।

‘वसन्त’ चलचित्र आगामी चैत्र २२ गते चैते दसैँको अवसर पारेर देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ । प्रकाश सपुत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यस चलचित्रमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रकाश सपुतको जन्मथलो बागलुङका साथै काठमाडौं र तराईका विभिन्न रमणीय स्थानहरूमा चलचित्रको छायाङ्कन गरिएको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस सामाजिक कथामा प्रकाश सपुतले नै कथा, पटकथा र सङ्गीत तयार पारेका छन् । चलचित्रले विपन्न विश्वकर्मा समुदायको एक युवाको लेखक बन्ने सपना र त्यसका लागि उसले गर्ने सङ्घर्षको कथालाई चित्रण गरेको छ ।

चलचित्रको निर्माणमा मोहन विश्वकर्मा र बिन्दु बोहोराले सहकार्य गरेका छन् भने अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । सुसन प्रजापतिले छायाङ्कन गरेको यस चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu