
काठमाडौं – असोज २४ गतेलाई रिलिज मिति तोक्दै नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण घोषणा गरिएको छ । निर्माण युनिटले फस्ट लुक सार्वजनिक गर्दै निर्माणको औपचारिक जानकारी दिएको हो ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने यो चलचित्रलाई सन्तोष कुमार आत्रेयले निर्देशन गर्नेछन् । ‘शिवांश: च्याप्टर १’ आत्रेयको पहिलो निर्देशकीय प्रोजेक्ट हो ।
चलचित्रमा अभिनेता प्रवीण खतिवडा, तेज गिरी र नव-अभिनेत्री रुषा न्यौपानेले मुख्य भूमिका निर्वाह गर्नेछन् । यसका साथै विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा र अनुभवी कलाकार टिका निरौला लगायतको पनि अभिनय रहनेछ ।
चलचित्रको कथावस्तु अञ्जान केसीले लेखेका हुन् र उनी यसका निर्माता पनि हुन् । शोभा भण्डारी र अनीश केसी बोगटीले सह-निर्माताको रूपमा काम गर्नेछन् भने चलचित्रको पटकथा बारत लिम्बुले तयार पारेका छन् ।
सार्वजनिक गरिएको फस्ट लुक पोस्टरले चलचित्रको विषयवस्तुको सङ्केत दिन्छ । पोस्टरमा मुख्य अभिनेता प्रवीण खतिवडालाई फलामको साङ्लोले बाँधिएको अवस्थामा देख्न सकिन्छ । उनको अनुहारको आधा भाग मात्र देखाइएको छ, जसले उनी कुनै शक्तिशाली विरोधीको नियन्त्रणमा रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तै, पोस्टरको पृष्ठभूमिमा एक व्यक्तिको सामुन्ने सिङ्गो गाउँमा आगलागी भएको दृश्य देखिन्छ, जसले चलचित्रमा तीव्र शक्ति सङ्घर्षको कथा प्रस्तुत हुने सम्भावना देखाउँछ । यद्यपि, निर्माण पक्षले चलचित्रको विस्तृत कथासारबारे थप जानकारी दिएको छैन ।
चलचित्रमा सङ्गीतकार न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले सङ्गीत संयोजन गर्नेछन् । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीकको सहकार्य रहनेछ । दर्शकहरूले राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको सुमधुर आवाज सुन्न पाउनेछन् ।
‘शिवांश: च्याप्टर १’ मा मिलन श्रेष्ठले द्वन्द्व निर्देशन र विक्रम चौहानले नृत्य निर्देशनको जिम्मेवारी सम्हाल्नेछन् । शरद महतोले छायाङ्कन गर्ने यो चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बु हुन् । सुलक्षण भारती स्क्रिप्ट डक्टरको रूपमा रहनेछन् भने शम्भु थापा कार्यकारी निर्माताको भूमिकामा छन् ।