चलचित्र ‘बिगुल’ को शुभ मुहूर्त



काठमाडौं – नयाँ नेपाली चलचित्र ‘बिगुल’ को शुभ मुहूर्त बुधवार कोटेश्वर महादेवस्थानमा सम्पन्न भएको छ । अक्षय तृतीयाको पावन अवसर पारेर आयोजित समारोहमा चलचित्रको पहिलो दृश्य छायाङ्कन गरिएको थियो ।

रमेश कोइरालाको निर्देशनमा बन्न लागेको यो सामाजिक जागरण र समसामयिक राजनीतिमा आधारित चलचित्रको छायाङ्कन वैशाखको तेस्रो साताबाट चितवनमा सुरु हुने निर्माण पक्षले जनाएको छ । मुहूर्त सटमा अभिनेत्री बेनिशा हमाल र अभिनेता नरेन खड्काले अभिनय गरेका थिए । नरेनले समाज जागरणको आह्वान गरेको संवाद प्रस्तुत गरे भने बेनिशाले शान्ति र स्वतन्त्रताको प्रतीकका रूपमा परेवा उडाएकी थिइन् ।

चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले मुहूर्त सटको क्यामेरा स्विच अन गरेका थिए भने निर्देशक प्रदीप श्रेष्ठले क्ल्यापबोर्ड थिचेका थिए । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फुटाएर चलचित्रको सफलताको कामना गरेकी थिइन् ।

दिनेश कोइरालाको कथामा तयार भएको चलचित्रको पटकथा र संवाद मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालले छायाङ्कन गर्ने यो चलचित्र कल्पना पौडेलको प्रस्तुतिमा महेश कोइराला र सूर्यकान्त कोइरालाले निर्माण गर्दैछन् । म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा बेनिशा र नरेनका साथै नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारी र बाल कलाकार श्रेयान्सी थपलियाको अभिनय रहनेछ ।

चलचित्रका गीतहरूमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको सङ्गीत रहनेछ भने कविराज गहतराजले कोरियोग्राफी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu