
काठमाडौं – वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘जार’मा मुख्य भूमिका निभाएकी अभिनेत्री गीताञ्जली थापा नेपाली चलचित्र क्षेत्रमा परिचित नाम नभए पनि उनी एक उत्कृष्ट कलाकार हुन् । भारतमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी गीताञ्जलीले ‘लायर्स डाइस’ नामक चलचित्रबाट भारतको प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छिन् ।
यति मात्र नभई, उनी नेटफ्लिक्सको चर्चित सिरिज ‘सेक्रेड गेम्स’ मा पनि देखिएकी छन् । गीताञ्जलीले अभिनय गरेका चलचित्रहरूले नेपाल र भारतमा मात्र नभई विश्वभरका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा प्रदर्शन भएर प्रशंसा बटुलिसकेका छन् । टोरन्टो, बुसान, लस एन्जलस र न्युयोर्क जस्ता ठुला फिल्म फेस्टिभलमा उनका चलचित्र देखाइएको छ ।
‘जार’ निर्माण पक्षका अनुसार गीताञ्जलीको सशक्त अभिनयले चलचित्रलाई थप उचाइ दिएको छ । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र सन् १८०० को दशकमा नेपालमा घटेको सत्य घटनाबाट प्रेरित छ, जुन साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित छ ।
निर्देशक फुर्वा छिरिङ लामाद्वारा निर्देशित ‘जार’ले त्यति बेलाको समाजको संरचना र मानवीय भावनाको जटिलतालाई प्रस्तुत गर्नेछ । फेरि टेल पिक्चर्सको निर्माणमा बनेको यो चलचित्रलाई निर्देशक लामाले एक पूर्ण मनोरञ्जनात्मक प्याकेज भएको दाबी गरेका छन् ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो । त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा यस चलचित्रका कार्यकारी निर्माता हुन् ।
सरवानन इलावार्सुको छायाङ्कन र अखिलेश राईको सम्पादन रहेको यो चलचित्रमा झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत छ । निर्माण टिमका अनुसार ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउनेछ ।
हालै सिक्किममा भएको ग्राण्ड वर्ल्ड प्रिमियरमा चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । दर्शकहरूले चलचित्रको कथा, कलाकारको अभिनय, निर्देशन, छायाङ्कन र सङ्गीतको प्रशंसा गरेका छन् । निर्देशक साम्तेन भुटियाले यो चलचित्रले इन्द्रबहादुर राईको कथालाई न्याय गरेको र नेपाली मौलिकतालाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरेको बताएका छन् ।