कान्समा ‘एक्लो’ प्रवर्द्धन गर्दै प्रदीप शाही



काठमाडौं – कान्स फिल्म फेस्टिभलको ७२ औँ संस्करण फ्रान्सको कान्स सहरमा मे १३ देखि २४ सम्म हुँदैछ । यो विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमा यस वर्ष नेपालबाट विज्ञान कथामा आधारित चलचित्र ‘एक्लो’ पनि कान्समा सहभागी हुँदैछ । प्रतिस्पर्धामा छनोट नभए पनि यो चलचित्र ‘मार्चे दु फिल्म’ अर्थात् कान्सको चलचित्र बजारमा आफ्नो प्रचारप्रसार गर्नेछ । यो नेपाली चलचित्रको लागि पहिलो पटक हो, जहाँ प्रचारका लागि स्टल नै राखिनेछ ।

मे १३ देखि २१ सम्म चल्ने यस बजारमा ‘एक्लो’का निर्माता रितेश राना, सङ्गीता श्रेष्ठ, भाइ राजा थापा, राजु गुरुङ र उत्सव विष्ट सहभागी हुनेछन् । चलचित्रकी सह-निर्देशक रिश्ता कार्की बजारीकरण प्रमुखको रूपमा त्यहाँ रहनेछिन् । निर्देशक प्रदीप शाही पनि प्रोड्युसर्स नेटवर्कमा सहभागी हुन आइतबार पेरिस पुगेका छन् । कान्सबाट उनले भने, ‘हामी यस वर्षको कान्स मार्फत विश्व बजारमा नेपाल र ‘एक्लो’लाई जोड्न चाहन्छौँ ।’ कान्स सुरु हुनुअघि नै सात वटा अन्तर्राष्ट्रिय वितरकले यस चलचित्रमा चासो देखाएको निर्देशकले जनाए, जसमा चार अमेरिकी, दुई जापानी र एक भारतीय कम्पनी रहेका छन् ।

कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, निर्माता र ओटीटी प्लेटफर्ममा फिल्मको प्रचार गर्नेछ । यसका साथै नेपाललाई चलचित्र छायाङ्कनको लागि आकर्षक गन्तव्यको रूपमा प्रस्तुत गर्ने र विदेशी सहकार्यको सम्भावनालाई पनि खोजिनेछ ।

निर्देशक शाहीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए । उनले भने, ‘हामी अहिले पनि नेपाली हल र एपमा मात्र सीमित छौँ । यो सबटाइटल र एआईले डबिङ गर्ने समय हो । हामीले ‘एक्लो’ मार्फत विज्ञान कथालाई हिन्दु संस्कृतिसँग जोड्ने प्रयास गरेका छौँ ।’

‘एक्लो’मा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी र बेलायती कलाकार जेमी बेकन लगायतको अभिनय छ । यसको कथा सन् २०३० को भविष्यमा खतरनाक भाइरसका कारण मानिसहरूले पृथ्वी छोड्ने काल्पनिक परिवेशमा आधारित छ । त्यसको ६० वर्षपछि एक बेलायती अन्तरिक्ष यात्री हिमालय क्षेत्रमा दुर्घटनाग्रस्त हुन्छ र त्यहाँ एक रहस्यमय सहर र एक पौराणिक संरक्षकलाई भेट्छ ।

निर्देशक शाहीको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘अन्तिम संस्कार’ र ‘गुर्खा : विनिथ द ब्रेभरी’ निर्देशन गरेका थिए । विज्ञान कथामा आधारित यो फिल्म आउँदो तिहारमा नेपालका हलमा रिलिज हुने लक्ष्य राखिएको छ ।

यसैबीच, यस वर्ष कान्समा हलिउड स्टार टम क्रूज आफ्नो नयाँ चलचित्र ‘मिसन इम्पोसिबल– डेड रोकोनिङ’ को वर्ल्ड प्रिमियरमा सहभागी हुनेछन् । महोत्सवको सुरुवात फ्रान्सेली कमेडी चलचित्र ‘लिभ वान डे’ बाट हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धाको निर्णायकको भूमिका निभाउनेछिन् भने अभिनेता रोबर्ट डी निरोलाई मानार्थ पाम डी’ओर प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu