
काठमाडौं – जेठ २ गते प्रदर्शन हुने चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिकट बुकिङ मङ्गलवार साँझबाट सुरु भएको छ । दर्शकहरूले अब हलमा गएर वा अनलाइनबाट टिकट किन्न सक्नेछन् ।
यो चलचित्रले धेरै दर्शकको मन जित्ने अनुमान गरिएको छ । काठमाडौंको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले मात्र काठमाडौंमा २५ वटा शो दिएको छ भने काठमाडौं बाहिर २२ वटा शो तोकेको छ । यसरी क्यूएफएक्सका देशभरका हलहरूमा ४७ शो उपलब्ध छन् ।
अन्य मल्टिप्लेक्सहरूले पनि चलचित्रलाई राम्रो सङ्ख्यामा शो दिएका छन् । आईएनआईले आफ्ना चार वटा हलमा १५ शो, वान सिनेमाजले कालीमाटीमा ४ शो र एफक्यूबले ४ शो दिएका छन् । अरू हलहरूले पनि लगभग यस्तै सङ्ख्यामा शो उपलब्ध गराएका छन् । वितरक करण श्रेष्ठले केही हलहरूले शो खोल्न बाँकी रहेको र आज र भोलीसम्ममा देशभरिको शोको पक्का जानकारी आउने बताएका छन् ।
दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी लगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ ।
यो चलचित्रको कथा चर्चित लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनको पहिलो पटक चलचित्रको लागि लेखिएको कथा हो ।
‘के घर के डेरा : घर नं २’ ले काठमाडौंमा घर बनाउन चाहने मध्यम वर्गका मानिसहरूको सपना र घर भएर पनि भोग्नुपर्ने समस्यालाई देखाउँछ ।