
काठमाडौं – अभिनेता विजय बराल, अभिनेत्रीहरू केकी अधिकारी, मिरूना मगर लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘जनै हराएको बाहुन’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार चलचित्रको कथाको झलक दिने एक तस्बिर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक तस्बिरमा अस्ताउँदो सूर्यको सामुन्ने उभिएका एक व्यक्ति देखिन्छन् । आकाशमाथि एउटा हवाईजहाज उडिरहेको छ भने छेउमा ठुलो घरजस्तो संरचना छायामा देखिन्छ । तस्बिरमा देखिएको व्यक्ति को हो भन्ने स्पष्ट नभए पनि यदि उनी मुख्य पात्र हुन् भने अभिनेता विजय बराल हुन सक्छन् ।
हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रले आमा र छोराबीचको गहिरो भावनात्मक सम्बन्धलाई पनि देखाउनेछ । चलचित्रमा मनिष राउतले असोसिएट निर्देशकको रूपमा काम गरेका छन् । बलियो कलाकारहरूको समूह रहेको यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी र सुशांक मैनालीको मुख्य भूमिका रहेको छ । साथै, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा जस्ता कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिम्सिना र चूडामणि सिवाकोटी चलचित्रका सह–निर्माता रहेका छन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको यस चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको छायाङ्कन रहेको छ ।