इलाममा बाल चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न, सिर्जना र पर्यटनको प्रवर्द्धनमा जोड



इलाम – इलाम बजारमा जेठ ५ गतेदेखि सुरु भएको “बाल चलचित्र महोत्सव” शुक्रवार भव्य समारोहका साथ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको आयोजना, इलाम नगरपालिकाको सहकार्य तथा कोसी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित यस महोत्सवले सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयलाई जोड दिएको थियो । यसले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ ।

महोत्सवमा ३७ जना विद्यार्थीलाई चलचित्र लेखन, निर्देशन र अभिनयको व्यावहारिक तालिम दिइएको थियो । कलाकार बद्री अधिकारीको निर्देशनमा उनीहरूले बनाएको लघु चलचित्र “हजार सपनाहरू” को प्रदर्शन भएको थियो । इलाम बजार र श्रीअन्तुका विद्यालयहरूमा “घुम्ती सिनेमा” सञ्चालन गरियो, जहाँ सडकछेउमा चलचित्र प्रदर्शन गरी सर्वसाधारण, विद्यार्थी र अभिभावकलाई चलचित्र हेर्ने नयाँ अनुभव प्रदान गरियो । इलामकी फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र “अन्जिला” पनि इलाम बजार चोकको एलइडी स्क्रिनमा प्रदर्शन गरिएको थियो ।

 गौतम बुद्ध हलमा “शिलावाला”, “घुर्रा”, “द स्कुल वाल” र “पाउलो” लगायतका बाल चलचित्रहरू प्रदर्शन गरिए । वसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी लगायतका कलाकार तथा चलचित्रकर्मीले बालबालिकासँग प्रत्यक्ष संवाद गरे ।

शुक्रवार इलाम नगरपालिकाको सभा हलमा सम्पन्न समापन समारोहमा इलाम नगरपालिकाका मेयर केदार थापा, उपमेयर विष्णु कुमारी लिम्बु, वडाध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक-विद्यार्थी, अभिभावकका साथै कलाकार तथा चलचित्रकर्मीको उल्लेख्य सहभागिता थियो ।

मेयर थापाले इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई चलचित्रमार्फत देश विदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी हुने बताए । उनले इलाममा छायाङ्कन गर्न चाहने फिल्मकर्मीलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले सिनेमाले सिर्जना, शिक्षा र पर्यटनलाई समेत समेट्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए । उनले यो महोत्सव कोसी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचार–प्रसारमा पनि सहयोगी हुने विश्वास व्यक्त गरे । पर्यटन प्रवर्द्धनका लागि सेलिब्रेटीहरूले “चलचित्र छायाङ्कनको लागि इलाम” लेखिएका टिसर्ट लगाएर इलामका विभिन्न स्थानको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu