‘जनै हराएको मान्छे’को ‘आमा’ गीत सार्वजनिक



काठमाडौं – आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा बोकेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतले चलचित्रको मुख्य भावलाई प्रस्ट पारेको छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना, सङ्गीत र स्वर रहेको छ भने उनलाई गायिका मनीषा सुनारले साथ दिएकी छन् । गीतमा विभिन्न आरोह-अवरोह र लयमा उतारचढाव समायोजन गरिएको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ ।

यो गीतले चलचित्रको मुख्य कथालाई नै बोलेको छ । चलचित्रको मुख्य पात्रले घर छोडेर काठमाडौंमा सङ्घर्ष गर्दा र अनेक हन्डर ठक्कर खाँदाको पीडालाई गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आमाको ऋण तिर्न र उनको आँसु पुछ्न काठमाडौं पसेको छोराले सोचेजस्तो सहज र सरल नभएको सहरको यथार्थ चित्रण गीतमा छ ।

चलचित्रका एसोसिएट निर्देशक मनिष राउतका अनुसार यो गीत आफ्नो बाचाको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुसी खोज्न सहर पसेका छोरा-छोरीका लागि समर्पित छ । 

भदौ ६ गते रिलिज हुने यस चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ । यस्तै, रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्की, निरु खड्का गौतम, सुवास सिंह ठकुरी लगायतको पनि अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिम्सिना र चूडामणि सिवाकोटी रहेका छन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu