
काठमाडौं – वडा दसैँमा प्रदर्शनको लक्ष्यसहित निर्माण घोषणा गरिएको नेपाली चलचित्र ‘महाराजधिराज’को छायाङ्कन अनिश्चित बनेको छ । अभिनेता पल शाहलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै निकै महिनाअघि पोस्टर सार्वजनिक गरिए पनि, अहिले पल शाह नै यो प्रोजेक्टबाट बाहिरिएका छन् । यस विषयमा पल शाह र निर्माता बिराज बिस्टबीच आरोप–प्रत्यारोप चर्किएको छ ।
हालै टेलिभिजन कार्यक्रम ‘रजतपट’मा पत्रकार प्रकाश सुवेदीसँगको अन्तर्वार्तामा अभिनेता पल शाहले आफूले ‘महाराजधिराज’का लागि समय दिए पनि निर्माताले छायाङ्कन गर्न नसकेको दाबी गरेका थिए । शाहको भनाइपछि निर्माता बिराज बिस्टले सामाजिक सञ्जालमार्फत प्रतिउत्तर दिँदै पलको भनाइमा सत्यता नभएको स्पष्ट पारेका छन् ।
मैले समय दिएँ, निर्माताले छायाङ्कन गर्न सकेनन्: पल शाह
पल शाहले ‘रजतपट’मा बोल्दै आफू र निर्माताको पहिलेको संयुक्त विज्ञप्तिमा नै सबै कुरा स्पष्ट रहेको बताए । उनले वैशाख-जेठदेखि नै छायाङ्कनमा जाने योजना भए पनि ‘मोहर’ को बाँकी छायाङ्कन र अन्य कारणले समय तालिका नमिल्दा ढिलाइ भएको उल्लेख गरे । उनले भने, “अन्त्यमा असारदेखि जाने योजना भयो । मैले एउटा चलचित्रको लागि समय दिएपछि पछि छायाङ्कनमा जाने चलचित्रलाई पनि सोहीअनुरूप समय मिलाएको हुन्छु । मैले आफैँले बनाउन लागेको चलचित्र ‘यानीमाया’ साउनमा नै छायाङ्कनमा जानुपर्ने बाध्यता छ । सो समयमा नै मेला रहेको र पानीमा नै चलचित्र बनाउनुपर्ने छ ।”
पलले आफ्नो कारण वा अन्य प्राविधिक कारणले निर्माता छायाङ्कनमा जान नसकेकोले आपसी सल्लाहमा नै आफूले चलचित्रमा काम नगरेको बताए । उनले आफूलाई चलचित्रबाट निकालिएको भन्ने हल्ला गलत भएको दाबी गर्दै फागुनदेखि नै समय दिए पनि विविध कारणले छायाङ्कन सुरु नभएको स्पष्ट पारे ।
निर्माता बिराज बिस्टको खण्डन: ‘समय तालिकाको ढिलाइ हाम्रो कारणले होइन’
पल शाहको भनाइपछि निर्माता बिराज बिस्टले ‘महाराजधिराज: हाम्रो सपना र तपाईँप्रतिको विनम्र अपिल’ शीर्षकमा एक लामो वक्तव्य जारी गर्दै पलको आरोप खण्डन गरेका छन् । बिस्टले कानुनी सम्झौताअनुसार पल शाहले चाहेर पनि चलचित्र छाड्न नसक्ने वा आफूहरूले हटाउन नसक्ने बताए । उनले माघदेखि असोजसम्मको समय पल शाहको ‘महाराजधिराज’ का लागि तय भएको जानकारी दिए ।
बिस्टले तालिकाअनुसार पल शाहले माघसम्म ‘मायाको रङ्ग’ र त्यसपछि ‘मोहर’ को छायाङ्कन सकेर ‘महाराजधिराज’मा जोडिने योजना रहेको बताए । तर, ‘मायाको रङ्गहरू’को पोस्टपोन्ड र ‘मोहर’को छायाङ्कन वैशाखको पहिलो हप्तासम्म लम्बिँदा योजनामा ढिलाइ भएको निर्माताको भनाइ छ । उनले यो ढिलाइ ‘महाराजधिराज’को टिमको कारण नभएको र पल शाह दुई वटै फिल्ममा व्यस्त रहँदा दबाब दिन नचाहेकोले छायाङ्कनमा ढिलाइ भएको जनाएका छन् । यस कारण निर्माताको तर्फबाट ढिलाइ भएको कुरामा कुनै सत्यता नरहेको वक्तव्यमा बताइएको छ ।
पछि, पल शाहले आफ्नै कम्पनीमा निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’ का लागि साउन महिना आवश्यक पर्ने जानकारी दिएपछि दुवै पक्ष सौहार्दपूर्ण वातावरणमा बसी पललाई ‘यानीमाया’ का लागि जान दिने निर्णय गरेको बिस्टले स्पष्ट पारेका छन् । यो निर्णय पूर्णतः आपसी सहमति र बुझाइमा आधारित रहेको भन्दै उनले ‘महाराजधिराज’ को टिम र पल शाहबीचको सम्बन्धमा कुनै कटुता नरहेको बताए ।
‘महाराजधिराज’ लाई आफ्नो जिउँदो सपना र वर्षौँको अथक प्रयासको साकार रूप बताउँदै बिस्टले यसलाई बङ्ग्याएर कुनै पनि पक्षलाई नकारात्मक तरिकाले प्रस्तुत नगर्न विनम्र आग्रह गरेका छन् ।