
काठमाडौं – एकता पौडेलको निर्देशनमा बनेको चलचित्र ‘हर्ष’को प्रदर्शन मिति घोषणा भएको छ । सोमबार सार्वजनिक गरिएको चलचित्रको टाइटल डिजाइनमार्फत ‘हर्ष’ आगामी मङ्सिर १२ गते देशभर प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
निर्देशक पौडेलले यस चलचित्रलाई आफ्ना स्वर्गीय मामा तथा प्रसिद्ध निर्देशक शिव रेग्मीप्रति समर्पित गरेकी छन् । भिडियोको सुरुवातमै यो समर्पण उल्लेख गरिएको छ । पौडेल न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङमा अध्ययन गरेकी हुन् भने उनले आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर पनि गरेकी छन् । यसअघि उनले केही छोटा चलचित्रहरू पनि निर्देशन गरिसकेकी छन् ।
पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन र सङ्गीता नापितको अभिनय रहेको छ ।