
बागलुङ – ढोरपाटन क्षेत्रमा करिब एक महिनादेखि छायाङ्कन भइरहेको चलचित्र ‘ऐरी’को सेटमा दुर्घटना भएको छ । एक्सन दृश्य खिच्ने क्रममा भएको दुर्घटनामा अभिनेता सोनम तोप्देनको बायाँ खुट्टा भाँचिएको छ । यो घटनाले फिल्मको छायाङ्कन तालिकामा समेत असर पर्ने देखिएको छ ।
अभिनेता तोप्देन आफैँले सामाजिक सञ्जालमार्फत आफ्नो खुट्टा भाँचिएको जानकारी दिएका हुन् । उनले एक्स-रे तस्बिरसहित फेसबुक स्टोरीमा लेखेका छन्, “सेटमा एक लडाइँको दृश्यका क्रममा मेरो बायाँ खुट्टा भाँचिएको छ । सायद यो मेरो जीवनकै सबैभन्दा भयानक र दर्दनाक क्षण हो । अहिले प्रार्थना र धैर्यका साथ बिस्तारै ठिक हुँदैछु ।”
घटना लगत्तै सोनमलाई हेलिकोप्टर चार्टर्ड गरेर ढोरपाटनबाट पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पताल पुर्याइएको थियो, जहाँ विगत एक सातादेखि उनको उपचार भइरहेको छ । प्राप्त जानकारीअनुसार चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले रुखबाट हाम फालेर किक हान्नुपर्ने एउटा दृश्यमा उनको खुट्टा सिधै सोनमको खुट्टामा लागेपछि यो दुर्घटना भएको हो । सोनमको खुट्टा भाँचिएपछि उनको भागको छायाङ्कन अनिश्चित बनेको छ । चिकित्सकहरूका अनुसार कम्तीमा ६ महिनासम्म उनी छायाङ्कनमा फर्कन सक्ने अवस्थामा छैनन् ।
यस घटनाले सोनमको अर्को चलचित्र ‘जलाकी’ को छायाङ्कन तालिकामा पनि असर पुगेको छ । आगामी भदौबाट सुरु हुने भनिएको ‘जलाकी’ को छायाङ्कन अब केही महिना पछि सर्ने निश्चित भएको छ ।
‘सम्हालिन्छ कहिले मन’ बाट अभिनय यात्रा सुरु गरेका सोनमले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शाम्बाला’ बाट निकै चर्चा कमाएका थिए ।