पहिलो नेपाली चलचित्र ‘आमा’ अब हुलाक टिकटमा



काठमाडौं – नेपाली चलचित्रको इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय थपिँदै नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अङ्कित भएको छ । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा यो ऐतिहासिक घोषणा गरियो । यसले नेपाली चलचित्रको गौरवशाली इतिहासलाई विश्वसामु चिनाउन नयाँ आयाम थपेको विश्वास गरिएको छ ।

वि.सं. २०२२ असोजमा प्रदर्शनमा आएको ‘आमा’ले नै नेपालमा चलचित्र उद्योगको जग बसालेको मानिन्छ । हीरासिंह खत्री निर्देशित यस चलचित्रमा शिवशङ्कर खत्री र भुवन चन्दले मुख्य भूमिका निभाएका थिए । नेपाली चलचित्रको प्रारम्भिक चरणको कोसेढुंगा मानिने यो चलचित्रको सम्मानमा हुलाक टिकट प्रकाशन हुनु आफैँमा एउटा ठुलो उपलब्धि हो ।

हुलाक सेवा विभागले रु. १० दरका दुई वटा विशेष हुलाक टिकट प्रकाशन गरेको छ, जसमा ‘आमा’ का नायक र नायिकाको तस्बिर अङ्कित छ । वार्षिकोत्सव कार्यक्रममा गरिएको अनावरण समारोहमा नेपाली चलचित्रका अग्रज अभिनेत्रीहरू भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीको संयुक्त उपस्थिति थियो ।

हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले यी टिकटहरूको टाँचा तयार गरेकी हुन् । महानिर्देशक पङ्गेनीले यस अवसरमा बोल्दै यो टिकटले ‘आमा’ को ऐतिहासिक महत्वलाई विश्वभर पुर्‍याउनेमा पूर्ण विश्वस्त रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu