
काठमाडौं – नेपाली चलचित्र ‘कल्ली’ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र देशको वर्तमान राजनीतिक अवस्था र आसन्न निर्वाचनका कारण पछि सरेको जनाइएको छ।
निर्माण पक्ष लेकाली ईन्टरटेनमेन्ट प्रा.लि. का तर्फबाट निर्माता किरण नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार, देश निर्वाचनको महत्त्वपूर्ण घडीमा रहेकाले नागरिकको ध्यान र राज्यको प्राथमिकता राजनीतिमै केन्द्रित हुनुपर्ने निर्माण पक्षको ठहर छ । ‘पहिले देश, अनि मात्र कला र मनोरञ्जन’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै संवेदनशील समयको सम्मानका लागि यो निर्णय लिइएको बताइएको छ ।
चलचित्रको नयाँ प्रदर्शन मिति भने अहिल्यै तय गरिएको छैन । विज्ञप्तिमा भनिएको छ, “मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बने लगत्तै हामी ‘कल्ली’ को नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौँ ।”






