
बलिउड अभिनेता शाहिद कपूर र चर्चित अभिनेत्री तृप्ति डिमरीको मुख्य भूमिका रहेको चलचित्र ‘ओ रोमियो’ ले बक्स अफिसमा अनुमान विपरीतको नतिजा निकाल्दै सुखद सुरुवात गरेको छ। ट्रेलर र गीतसङ्गीतले बजार तताए पनि अग्रिम टिकट बुकिङको सुस्त गति देख्दा चलचित्रले पहिलो दिन ५ देखि ६ करोडको मात्र व्यापार गर्ने प्रारम्भिक विश्लेषण गरिएको थियो। तर, शुक्रवार प्रदर्शनमा आएको यस फिल्मले ट्रेड पण्डितहरूको गणितलाई फेल खुवाउँदै पहिलो दिनमै लोभलाग्दो व्यापार गर्न सफल भयो।
प्रख्यात ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, ‘ओ रोमियो’ ले प्रदर्शनको पहिलो दिनमै भारतमा ९ करोड १ लाख भारुको नेट कलेक्सन गरेको छ। विशेष गरी सहरी क्षेत्रका मल्टिप्लेक्सहरूमा दिउँसो र साँझका शोहरूमा देखिएको दर्शकको उत्साहजनक उपस्थितिले फिल्मको ओपनिङलाई मजबुत बनाएको हो। सुस्त बुकिङका बाबजुद ‘स्पट बुकिङ’ र ‘वर्ड अफ माउथ’ ले फिल्मलाई ठुलो राहत दिएको देखिन्छ।
यद्यपि, फिल्मको असली परीक्षा बाँकी नै छ। तरण आदर्शले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेअनुसार, फिल्मलाई हिटको सूचीमा उभ्याउन शनिवार र आइतबारको व्यापार निर्णायक हुनेछ। भ्यालेन्टाइन डेको रोमान्टिक माहौलले शनिवार हलमा दर्शकको ओइरो लाग्ने अपेक्षा गरिए पनि आइतबार फिल्मका लागि ठुलो चुनौती खडा भएको छ। आइतबार साँझ हुने भारत र पाकिस्तानबिचको ‘हाई भोल्टेज’ क्रिकेट भिडन्तले दर्शकलाई घरमै रोक्न सक्ने र त्यसको प्रत्यक्ष असर फिल्मको कलेक्सनमा पर्ने आकलन गरिएको छ।
व्यावसायिक कोणबाट हेर्दा यो ओपनिङले अभिनेता शाहिद कपूरको करियरमा ‘सञ्जीवनी’ को काम गरेको छ। ब्लकबस्टर चलचित्र ‘कबीर सिंह’ पछि बक्स अफिसमा सङ्घर्ष गरिरहेका साहिदका लागि यो ओपनिङ निकै ठुलो राहत हो। यसअघि सन् २०२४ मा रिलिज भएको उनको फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ ले ७ करोडको ओपनिङ गरेको थियो, जसलाई ‘ओ रोमियो’ ले सहजै पछाडि पारेको छ। अब साहिदमाथि यो फिल्मलाई व्यावसायिक रूपमा सफल बनाएर आफ्नो स्टारडम प्रमाणित गर्नुपर्ने दबाब भने कायमै छ।
यो चलचित्र नेपालमा पनि रिलिज भएको छ भने नेपाली दर्शकहरूले समेत मन पराएको देखिएको छ।



