बहु प्रतीक्षित ‘धुरन्धर: द रिभेन्ज’को धमाकेदार ट्रेलर सार्वजनिक, रणवीर सिंहको ‘डबल अवतार’सँगै एक्सनको ठुलो क्यानभास



काठमाडौं – बलिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको जासुसी कथामा आधारित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ को बहु प्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा रणवीरलाई जस्किरत सिंह रांगी र हम्जा गरी दुई विल्कुलै फरक तथा सशक्त अवतारमा प्रस्तुत गरिएको छ। अघिल्लो शृङ्खलाभन्दा यस पटक पात्रहरूको आयामलाई अझै गहिरो र विस्तृत रूपमा देखाउन खोजिएको ट्रेलरले प्रस्ट पार्छ।

ठुलो क्यानभासमा निर्माण भएको यस स्पाई थ्रिलरको ट्रेलर तीव्र गतिका एक्सन दृश्य, दमदार संवाद र दर्शकको ढुकढुकी बढाउने रोमाञ्चक क्षणहरूले भरिपूर्ण छ। फिल्ममा रणवीरका अलावा बलिउडका दिग्गज कलाकारहरूको बलियो उपस्थिति देख्न सकिन्छ। अभिनेता आर. माधवन रणनीतिक योजनाकार अजय सन्यालको भूमिकामा जमेका छन् भने अर्जुन रामपाल आईएसआईका मेजर इकबालका रूपमा खतरनाक देखिएका छन्। यसै गरी, सञ्जय दत्तले एसपी चौधरी असलमको चरित्रलाई पर्दामा उतारेका छन्।

दुई भागमा तयार पारिएको ‘धुरन्धर’ फ्रेन्चाइजको यो दोस्रो शृङ्खला हो। यसको पहिलो भागमा पाकिस्तानको कराँचीस्थित आपराधिक र राजनीतिक अन्डरवर्ल्डमा छिरेर करिब १० वर्षसम्म गोप्य मिसन चलाउने एक भारतीय जासुसको रोमाञ्चक कथा प्रस्तुत गरिएको थियो। पहिलो भाग जुन रहस्यमय मोडमा गएर टुङ्गिएको थियो, दर्शकले व्यग्रताका साथ पर्खिरहेको दोस्रो भागको कथा त्यही विन्दुबाट अगाडि बढ्नेछ। हलको प्रदर्शनपश्चात् नेटफ्लिक्समा रिलिज हुँदा पहिलो भागले विश्वव्यापी ‘टप १०’ गैर–अङ्ग्रेजी फिल्मको सूचीमा पहिलो स्थान ओगट्नुका साथै भारत र पाकिस्तान दुवै देशमा नम्बर १ को ताज पहिरिन सफल भएको थियो।

आदित्य धरको लेखन, निर्देशन तथा निर्माण रहेको यो फिल्म आगामी मार्च १९ देखि विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ। हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu