१३ करोडको व्यापारसहित ‘आ बाट आमा’को ५१औँ दिनको उत्सव



काठमाडौं – बक्स अफिसमा सानदार व्यापार गर्दै नेपाली चलचित्र ‘बाट आमा’ले प्रदर्शनको ५१औँ दिन पार गरेको छ। यस ऐतिहासिक सफलताको खुसीयालीमा आइतबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रसँग जोडिएका प्राविधिक, कलाकार, सञ्चारकर्मी, वितरक तथा हल सञ्चालकहरूलाई सम्मान-पत्रसहित कृतज्ञता प्रकट गरेको छ।

कार्यक्रममा बोल्दै निर्देशक चन्द्र पन्तले दर्शकहरूको अपार माया र साथले नै यो सफलता सम्भव भएको भन्दै सबैप्रति आभार व्यक्त गरे। उनका अनुसार ५१औँ दिन पार गर्दासमेत यो चलचित्र देशभरका २५ वटा सिनेमा घरमा सफलतापूर्वक प्रदर्शनरत छ। नेपाल चलचित्र विकास बोर्डको तथ्याङ्कलाई उद्धृत गर्दै बताइएअनुसार यस चलचित्रले हालसम्म कम्तीमा १३ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ।

पहिलो शृङ्खलाले हासिल गरेको यही अभूतपूर्व व्यावसायिक सफलताबाट उत्साहित हुँदै निर्माण टोलीले कार्यक्रमकै मञ्चबाट ‘बाट आमा २’ निर्माणको औपचारिक घोषणा समेत गरेको छ। निर्देशक पन्तका अनुसार आगामी वैशाखको दोस्रो साताबाटै सिक्वेलको छायाङ्कन सुरु गर्ने गरी तीव्रताका साथ तयारी भइरहेको छ। नयाँ चलचित्रको कथावस्तु अघिल्लो भागभन्दा पूर्ण रूपमा फरक र स्वतन्त्र हुने जानकारी दिइएको छ। नयाँ कथा र गहिरो भावनात्मक पाटोलाई समेटेर निर्माण हुन लागेको दोस्रो शृङ्खलामा पहिलो भागको कथा जोडिने छैन।

सिक्वेलमा भावना र संवेदनालाई प्राथमिकतामा राख्दै धेरैजसो नयाँ अनुहारहरूलाई पर्दामा ल्याइने निर्देशक पन्तको भनाइ छ। यद्यपि, हालसम्म अभिनेता पल शाह मात्र ‘बाट आमा २’ का लागि आधिकारिक रूपमा अनुबन्धित भइसकेका छन् भने अन्य कलाकारहरूको टुङ्गो लाग्न बाँकी नै छ। पर्दामा देखिने कलाकारहरू परिवर्तन भए तापनि चलचित्रलाई प्राविधिक रूपमा उत्कृष्ट बनाउन पर्दापछाडिको प्राविधिक टोली भने पहिलो भागकै दोहोरिने निर्माण पक्षले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu