‘आ बाट आमा’को ५१ औँ दिनमा पल शाह भावुक: निर्देशक पन्तलाई हात जोड्दै भने- “करियरमाथि प्रश्न उठ्दा मलाई विश्वास गर्नुभयो”



काठमाडौं – आइतबार आयोजित चलचित्र ‘आ बाट आमा’को ५१ दिने सेलिब्रेसन कार्यक्रममा अभिनेता पल शाहले निर्देशक चन्द्र पन्तप्रति भावुक हुँदै विशेष आभार प्रकट गरेका छन्। चलचित्र क्षेत्रमा आफ्नो भविष्य र उपस्थितिलाई लिएर अनेकौँ प्रश्न उठिरहेको कठिन परिस्थितिमा पन्तले आफूलाई विश्वास गरेर काम दिएको भन्दै पलले हात जोडेर धन्यवाद दिएका हुन्।

उनका पछिल्ला चलचित्रहरूले औसत व्यापार मात्र गरिरहेको समयमा इन्डस्ट्रीमा उनको आवश्यकता र क्षमतामाथि शङ्का गर्न थालिएको थियो। ‘पल शाहले चलचित्रमा के नै गर्न सक्छ र ?’ वा ‘इन्डस्ट्रीमा उसको उपस्थिति अब छ र ?’ भन्ने जस्ता प्रश्नहरूले उनलाई घेरेको थियो। त्यस्तो निराशाजनक अवस्थामा निर्देशक पन्तले हिम्मत जुटाएर आफूलाई चलचित्र अफर गरेको पलले स्मरण गरे।

आफ्ना चलचित्रहरू एभरेज मात्र भइरहेको गुनासो गर्दा निर्देशक पन्तले ‘पल तिमी गर्न सक्छौ, तिमीलाई मात्र एउटा राम्रो स्क्रिप्ट चाहिएको हो’ भन्दै ढाडस दिएको उनले खुलाए। कार्यक्रममा बोल्दै अभिनेता शाहले भने, “मेरो उपस्थिति र क्षमतामाथि प्रश्न उठिरहेको बेला ‘म पललाई लिएर काम गर्छु’ भन्दै उहाँले जुन साथ दिनुभयो, त्यसका लागि म एकदमै धन्य छु। त्यो अवस्थामा भएको एउटा कलाकारलाई तपाईँले उचालेर ‘यो काम गर्न सक्छ है’ भनेर विश्वास गरेकोमा मुरी मुरी धन्यवाद।”

कठिन समयमा आफूलाई साथ दिने निर्देशक पन्तलाई हात जोड्दै नमन गरेका पलले आगामी दिनमा पनि यो सहकार्य र साथ सधैँ रहिरहने विश्वास व्यक्त गरे। “तपाईँको लागि म छु, मेरो लागि तपाईँ हुनुहुन्छ भन्ने मलाई थाहा छ,” उनले भने।

चलचित्र ‘आ बाट आमा’ले बक्स अफिसमा ५१ दिन मनाउन सफल भएसँगै यसले पल शाहको करियरमा नयाँ ऊर्जा दिएको र दर्शक तथा मेकरको उनीप्रतिको विश्वासलाई पुनः स्थापित गरेको प्रस्ट हुन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu