
आगामी जेठ ८ गतेबाट प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘मितज्यू’को निर्माण पक्षले आफ्नो सांगीतिक प्रचारप्रसार सुरु गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ। आइतबार दर्शकमाझ ल्याइएको ‘गैराघरे काँइली’ बोलको यस गीतमा चलचित्रका मुख्य तीन अनुहार दयाहाङ राई, सौगात मल्ल र नवनायिका तेरिया फौजा मगरलाई छमछमी नाचेको अवस्थामा देख्न सकिन्छ। ठेट लोकलयमा तयार पारिएको यस गीतमा तीनै जना कलाकारको नृत्य र हाउभाउ निकै सुहाएको छ।
ग्रामीण भेगको मीठो भाका समेटिएको यस गीतमा गायक श्रीकृष्ण बम मल्ल र चर्चित गायिका मेलिना राईले सुमधुर स्वर दिएका छन्। गीतको शब्द रचना र संगीत भर्ने काम पनि गायक मल्ल स्वयंले गरेका हुन् भने श्याम श्वेत रसाइलीले यसलाई उत्कृष्ट ढंगले एरेन्ज गरेका छन्। मिङ्मा डि लेप्चाको मनमोहक कोरियोग्राफी रहेको यस भिडियोमा कलाकारहरूको प्रस्तुतिलाई दर्शकले अत्यधिक रुचाइरहेका छन्।
पहाडी परिवेश र ग्रामीण सामाजिक कथावस्तुको पृष्ठभूमिमा बुनिएको यस चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। गीतको भिडियो सार्वजनिक भएसँगै निर्माता जनक घर्ती मगरले दर्शक तथा स्रोताबाट उत्कृष्ट प्रतिक्रिया पाउनेमा सिंगो टोली विश्वस्त रहेको बताए। चलचित्रको कथावस्तुले मागेअनुसार नै कुनै पनि प्राविधिक र कलात्मक पक्षमा सम्झौता नगरी यो गीत तयार पारिएको उनको भनाइ छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रबाट चर्चित डान्सर तेरिया फौजा मगरले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। चलचित्रमा दयाहाङ, सौगात र तेरियाका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको छायांकन शिशिर बिशंखेले गरेका हुन् भने सम्पादनको जिम्मा लोकेश बज्राचार्यले सम्हालेका छन्। त्यसैगरी, द्वन्द्व निर्देशन प्रभात विष्ट, साउन्ड डिजाइन नवीन श्रेष्ठ र निर्माण डिजाइन किशोर नेपालले गरेका छन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ।


