ठुलोपर्दा डटकम, काठमाण्डौ ।
युवा निर्देशक कैलाश न्यौपानेको डकुमेन्ट्री ‘ब्ल्याक इन ब्युटी’ प्रदर्शनको लागी तयार भएको छ । मुख्यतः पश्चिम नेपालको पर्यटकिय तथा साँस्कृतिक छटाहरुलाई परिचित गराउने उद्धेश्यले निर्माण गरिएको यो ‘डकुमेन्ट्री’को सम्पादनक काम सकिएसँगै प्रदर्शनको बाटो खुलेको हो ।
हालसम्म आधा दर्जन बढी डकुमेन्ट्री निर्देशन गरिसकेका कैलाश सुदुर पश्चिमेली सँस्कृतीलाई जोडेर तयार गरेको यो ‘डकुमेन्ट्री’को पोस्टको काम सकिएसँगै काठमाडौं तथा काठमाडौं बाहिरका पनि बिभिन्न ठाउँका स्कुल तथा कलेजहरुमा ‘सो’ को कुरा भईरहेको बताउँछन् । त्यसो त सन्देशमुलक कुराहरुलाई जोड दिईएको तथा रोजगारको लागी विदेशिनै पर्छ भन्ने नेपाली युवाहरुको मनोवृतीलाई नेपालमा रहेर नै केहि गर्न सकेमा अमेरिका, अष्ट्रेलिया सबै यही भेटिने जस्ता पक्षहरु डकुमेन्ट्रीमा जोडिएकोले पनि स्कुल कलेजका विधार्थीहरुलाई बढी लक्षित गरिएको कैलाशको भनाई छ ।
डकुमेन्ट्रीमा बिशेषतः सामाजिक शिक्षामा आधारित रहेर पश्चिम नेपालका नागरिकहरुको जीवन पद्धती, स्थानिय कला संस्कृती तथा बाहिर नआएका तर पर्यटनको लागी ठुलो संभावना बोकेका ठाउँहरुलाई जोड्न खोजिएको छ । अध्ययनको लागी अष्ट्रेलियाको अवसर पाउँदा पाउँदै पनि त्यसलाई छाडेर आफ्नै देशमा केहि गरौँ तथा यहाँकै समस्या र सम्भावनालाई बाहिर ल्याउन सकेमा केहि हुने सोचमा उनी काठमाडौबाट एक्लै सुदुर पश्चिम पुगेका थिए । यो डकुमेन्ट्रीमा पनि खास त विदेश जाने तयारी पुरा हुँदा-हुँदै पनि त्यसलाई छाडेर देशमै सम्भावना देखेर संघर्ष गरिरहेको युवाको कहानी र आफ्नै वास्तविकता जोडिएको कैलाशले जानकारी दिए ।
‘व्ल्याक ईन ब्युटी’मा दशकौं देखी नेपाली पत्रकारितामा क्रियाशिल पत्रकार तथा कवि नवराज लम्साल, अजय खनाल तथा अमेरिकन पत्रकार तथा लेखिका ‘एमेण्डा समर’को समेत बिशेष भुमिकामा देखिँदैछन् । यो डकुमेन्ट्री मेकिङको लागी काठमाडौंबाट एक्लै सुदुर पश्चिम पुगेर कैलाशले एक महिना बताएर त्यहाँको परिवेशमा घुलमिल हुँदै आफुले नै क्यामेरामा दृश्य कैद गरेका थिए । सँग-सँगै उनले यो डकुमेन्ट्रीमा सामाजिक पर्यटनको विकास र सुदुर पश्चिमका समस्या र सम्भावनाहरुको राम्रो चित्रण हुने समेत बताउँछन् ।
चलचित्र निर्देशक समाजले निर्देशकहरुको दक्षता वृद्धीको लागी २ बर्ष पहिले लमजुङको घलेगाउँमा गरेको ‘वर्कशप’मा उत्कृष्ट डकुमेन्ट्री ‘मन्सरी’ निर्देशन टिमका सदस्य कैलाश न्यौपानेले त्यसपछी आफ्नै निर्देशनमा ‘निरिह’ नामक डकुमेन्ट्री बनाएर देशभर प्रदर्शन समेत गरेका थिए ।