कविता संग्रह ‘पुराना कविता नयाँ अनुहार’ विमोचित



poem

अनिल यादव, काठमाण्डौ ।
बरिष्ठ कवि गोपाल कोइराला ‘त्यागी’ को नँया कविता संग्रह ‘पुराना कविता नयाँ अनुहार’ आइतवार राजधानीमा एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

कविता संग्रहलाई प्रमुख अतिथि पूर्व–प्रधानमन्त्री कृतिनिधि विष्ट, साहित्यकार डा. सुरेन्द्र केसी, भाषविद् मुकुन्द शर्मा उपाध्याय लगायतले संयुक्त रुपमा विमोचन गरे ।

कविता संग्रहमा जम्मा १ सय ३३ वटा कविताहरु समावेश गरिएका छन् । पुस्तकका विषयमा बोल्दै वरिष्ठ साहित्यकार कृष्ण मुरारी ‘चट्याङ मास्टर’ ले कार्यक्रममा यस्तो भने– ‘यस संग्रहमा धेरै वर्ष अगाडी लेखिएका कविताहरु आज पनि समयसापेक्ष छन् ।’ ‘समग्रमा भन्नुपर्दा त्यागीका कालजयी कविताहरु यस संग्रहमा पाइन्छन् । ’

‘यो संग्रहमा रहेका कविताहरुले राष्ट्रप्रति रहेको कविको प्रेम, अमूर्त आर्तनाद, चिन्ता पनि पाउन सकिन्छ’, कवि शैलेन्द्रप्रकाश नेपाल यसरी समिक्षा गरेका थिए ।

कवि गोपाल कोइरालाको यो छैठो पुस्तक हो । यसअघि उनले नेपाल गद्य संग्रह भाग दुईको ‘टीका’, मुक्त कल्पना स्मृति (लघुकाव्य), सम्पत्तिको आतङ्क– खोजी उपन्यास (संयुक्त लेखन), ‘नेपाली मुटुको रगतका थोपा–थोपा’ (कविता संग्रह), किताब आफै बोल्छ (तिष्टा देखि सतलज (कांगडा) सम्मको प्रमाणित दस्तावेज प्रकाशनमा ल्याएका थिए ।

कार्यक्रममा आफ्नो कमजोर स्वास्थ्यका बाबजुद पनि पूर्वप्रधानमन्त्री कृतिनिधी विष्ट आएका थिए । उनले स्वर्गीय राजा महेन्द्रलाई स्मरण समेत गरे । उनी भन्दै थिए– ‘राजाको नाम लियो भने त अहिले थप्पड हान्छन्, तर राष्ट्रलाई प्रेम नगर्ने ले मात्र यस्तो गर्छ । ’

राजा महेन्द्रले सधै देशलाई माया गर्ने गरेको भन्दै उनी कार्यक्रममा निकै भावुक देखिए । ‘मर्नुभन्दा अगाडी राजाले ‘म मरे पनि मेरो देश बाँचोस्’ भनेको अझै पनि झलझली याद आउँछ । ‘तर यँहा यस्तो सुनाउँदा यस कुरा बनायो भन्दै ठट्टा गर्छन्, पत्याउदैनन् ’, उनले थपे ।

राजाको राष्ट्रप्रेमको कुरा गर्दै कविहरुले पनि देशलाई यस्तै प्रेम गरेको कुरा उनले दर्शाउन खोजेका थिए ।  कार्यक्रमलाई सीमा सरोकार नागरिक समाज र मिलाप पब्लिकेशनले संयुक्त रुपमा आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu