ठुलोपर्दा डटकम, काठमाण्डौ ।
तीन बर्ष अघि सफल भएको चलचित्र ‘सायद’मा सँगै देखिएका सुनिल रावल र संयम पुरी पुन: एकसाथ आउँदै छन् । पौष २५ मा रिलिज हुने नेपाली चलचित्र ‘आभाष’मा उनिहरु पुन: देखिने छन् । ‘सायद’मा दाजुभाई बनेका रावल र पुरी ‘आभाष’मा कस्तो सम्बन्धमा रहेका छन् त्यो भने खुलाईएको छैन ।
नायक संयम पुरीले सुनिलसँग पुन: काम गर्न पाउँदा आफुलाई निकै खुसी लागेको बताएका छन् । “सुनिल दाई मलार्ई आफ्नै दार्ई जस्तो लाग्छ, मलाई हरेक कुरामा सम्झाउनु हुन्छ,बुझाउनु हुन्छ । त्यसैले उहाँको माया र न्यानो साथले नै आज आफु यस ठाँउसम्म आईपुगेको छु” कुराकानीका क्रममा संयमले बताए ।
यसै क्रममा हामीसँग कुरा गर्दै सुनिलले संयम नेपाली चलचित्रक्षेत्रको एक आशालाग्दो कलाकार भएको बताए । “मैले उसको आँखामा एक सुपरस्टार देखेको छु । साच्चै भन्नु पर्दा संयमले सबैको मनछुने अभिनय गर्ने माहिर छ” उनले भने । बैकिंक पेशामा आवद्द रावल ‘सायद’ चलचित्र बनाएर निर्माताका रुपमा परिचित भएका हुन् । त्यसपछि उनले होस्टेल’ निर्माण गरे र ‘होस्टेल’को सफलतापछि अहिले ‘होस्टेल रिटर्न्स’ बनाएका छन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा रहेको छ ।
त्यस्तै सुनिल रावलकै ‘होस्टेल’बाट नायक बनेका सलोन बस्नेतले पनि मनमुटु छुने अभिनय ‘आभाष’मा गरेको सुनिलको कथन छ । सलोन पनि ‘आभाष’मा मुख्य भुमिकामा छन् । साथैं ‘होस्टेल’बाट नै अभिनयमा आएकी नायिका प्रकृति श्रेष्ठ पनि चलचित्र आभाषमा मुख्य भुमिकामा रहेकी छिन् ।
‘आभाष’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । आभाषमा संयम पुरी, आष्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी प्रकृति श्रेष्ठ, सुनिल रावल, गोविन्द शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्वन्द्व, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । चलचित्रमा गोविन्द शाही, पवन श्रेष्ठ र दिपक शाहीको लगानी रहेको छ ।