थिएटर मलमा ‘बदरङ्ग’ अन्तिम सातामा मञ्चन हुँदै



badrang

ठुलोपर्दा डटकम, काठमाडौं ।
चार महिनाअघि मात्र उद्घाटन गरिएको व्यावसायिक भवनको पहिलो नाटकघर सुस्केरा–थिएटर मलको आफ्नै पहिलो प्रस्तुति नाटक ‘बदरङ्ग’ अन्तिम सातामा मञ्चन भइरहेको छ । सुनधारास्थित काठमाडौं मलको सातौं तल्लामा रहेको थिएटर मलले यस नाटकलाई पुस ७ गतेदेखि बुधबार बाहेक हरेक दिन मञ्चन गरिरहेको छ ।

राजवद्वारा लिखित कुनै समयको चर्चित नाटक ‘लोचनवंशको साक्ष्य’लाई ‘बदरङ्ग’ नाम दिएर थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका हुन् । काल्पनिक मिथकिय शैलीबाट प्रस्तुत गर्दै नाटकले वर्तमान राज्यव्यवस्था तथा समकालिन राजनीतिलाई समेत व्यङ्ग्य प्रहार गरेको छ । शासक हास्यास्पद चिन्तन र क्रुरतालाई पश्रय दिइरहेका चाटुकारहरुजस्ता पात्र रहेका नाटकलाई रमाइलो ढंगमा प्रस्तुत गरिएको छ । नाटक धेरै अघि लेखिएपनि अहिले पनि नाटकको मर्म उत्तिकै सान्दर्भिक रहेको अमेरिका रहँदै आएका नाटककार राजवले बताएका छन् ।

सञ्जिता सञ्जीले परिकल्पना गरेको नाटकको भेषभुषामा दरबारको दृश्यमा परम्परागत देखिने पोशाक र जिन्सको पाइन्टलाई मिश्रण गरिएको छ । त्यस्तै अभय महर्जन र रितेश महर्जनको रंग रमूहले संयोजन गरेको प्रत्यक्ष संगीतमा समेत सितार र गितार, तबला र पर्कर्शनलाई मिश्रण गरिएको देख्न सकिन्छ । नाटकमा रमेश श्रेष्ठ, बासुदेव खनाल, आकाश मगर, मानसराज, अभय बराल, सञ्जिता सञ्जी, टंक टाइगर, प्रदीप भण्डारी, अनोज पाण्डे, विभु पौडेल, जिवय ताम्राकार, सबीर चुरौटे, ममता लामिछाने, आपी आचार्य, निशान अधिकारी र अशोक राईको अभिनय रहेको छ । त्यस्तै निर्देशक श्रेष्ठलाई सहायक निर्देशकका रुपमा सुदाम सिकेले सघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu