साँखुमा चलचित्र ‘झोला’ हिट हुँदै



Jhola-Sankhu

ठुलोपर्दा डटकम, काठमाडौं ।
काठमाडौंको साँखु स्थित सालिनदीमा जारी ‘श्रीस्वस्थानी मेला’को अवसर पारेर विशेष प्रदर्शनको क्रममा रहेको नेपाली मौलिक चलचित्र ‘झोला’ ले दर्शकको राम्रो साथ पाएको बताईएको छ । श्रीस्वस्थानी कथा र चलचित्र दुवै नारीको परिवेशसँग जोडिएकोले मेलाको अवसर पारेर एक महिने प्रदर्शनको क्रममा रहेको यो चलचित्र हेर्ने दर्शकको भीड उल्लेख्य देखिएको छ ।

गत पौष २१ बाट मेला सुरु भएसँगै प्रदर्शन सुरु गरिएको चलचित्रको सो मा सुरुवाती दिनमा दर्शक मध्यम रुपमा उपस्थित भए पनि पछिल्लो चार दिन यता हरेक ‘सो’ हाउसफुल बनेको निर्माता राज तिमिल्सिना बताउँछन् । दैनिक ५ सो को हिसावले अहिले चलचित्र प्रदर्शन भईरहँदा दर्शकको बढ्दो चाख र मागले दैनिक रुपमा ७ सो चलाउन पर्ने स्थिती आएको पनि उनले जानकारी दिए ।

‘दिन बढ्दै जाँदा सिनेमा प्रति दर्शकको चाहाना तथा उत्सुकता बढ्दै गएको पाएका छौँ अर्का निर्माता सुशिल शाहले भने, ‘नेपाली समाजको सय बर्ष पुरानो कथालाई अहिले पर्दामा देखाउन पाउँदा अनि चलचित्रप्रति दर्शकले दिएको माया र साथले उत्साहित बनाएको छ ।’

शनिवार चलचित्रका निर्देशक यादवकुमार भट्टराई, निर्माता द्वय तिमिल्सिना र शाह तथा अर्का निर्माता रामगोपाल थापा तथा केन्द्रिय अभिनयमा रहेका बाल कलाकार सुजल नेपालसँगै दर्शकले चलचित्र हेरेका थिए । जहाँ कलाकार सुजलको अभिनयलाई धेरैले तारिफ गरेको पाईएको थियो भने उनीसँगै तश्विर खिचाउनेको समेत भीड थियो । निर्माण युनिटले माघ १ गते अर्की लिड कलाकार गरिमा पन्त, देशभक्त खनाल लगायतलाई दर्शक समक्ष उपस्थित गराउने कार्यक्रम राखेको छ ।

सो को लागी बाँसबाट कृतिम रुपमा सिनेमा हल निर्माण गरिएको छ । जहाँ एक पटकमा ५ सय जनाले चलचित्र हेर्न सक्ने व्यवस्था छ । मेला आयोजक माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिसँगको सहकार्यमा चलचित्र युनिटले एक महिनाको लागी दर्शकमाझ झोलाको सो आयोजना गरेको हो । मेला अवधीभर करिव ६० हजार दर्शकले चलचित्र हेर्ने अपेक्षा निर्माण युनिटको छ । मेलामा हरेक बर्ष करिव ३० लाख श्रद्धालुहरुको उपस्थिती रहने मेला आयोजक समितिले जनाएको छ ।

सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’ साहित्यकार कृष्ण धाराबासीको कृतिमा आधारित रहेर तयार भएको हो । बक्स अफिस कलेक्शनमा राम्रो प्रभाव राखेको यो सिनेमाले सार्वजनिक प्रदर्शनमा आउँदा पनि दर्शकको राम्रो साथ पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu