ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केहि दिन देखी अमेरिकामा रहिरहेका नायक जीवन लुईँटेल नेपाल आउन अझ केहि दिन लाग्ने भएपछि उनले अभिनय गर्न लागेको चलचित्र तिन घुम्तीमा जीवनको ठाँउमा अर्का कलाकार भित्रिएका छन् । कलाकार ध्रुव दत्त अब जीवनको ठाँउमा रहेका छन् । सोमवारबाट छायांकन सुरु हुन लागेको चलचित्र तिन घुम्तीमा नायिका गरिमा पन्त र ध्रुव दत्तको अब मुख्य भुमिका रहने छ ।
प्राप्त खबरका अनुसार अमेरिकाबाट अझै नेपाल फर्कन केहि समय लाग्ने भएका कारण जीवनको आग्रहमा नै चलचित्रको कलाकार फेरिएको बताइएको छ । ‘पिताम्बर’ नामक पात्रको भुमिकामा जीवनले अभिनय गर्ने यस अघि पक्का भएता पनि अब उनको ठाँउमा ध्रुव दत्तले उक्त पात्रको भुमिका निभाउनेछन् भने नायिका गरिमा पन्तले ‘इन्द्रमाया’ नामक पात्रको भुमिका निभाउनेछिन् ।
बन्दीपुरबाट छायांकन सुरु हुन लागेको चलचित्र तिन घुम्तीको करिब ८० प्रतिशत छायांकन बन्दीपुरमा नै हुने निर्देशक बाबुराम ढकालले बताए । विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’मा आधारित भएर निर्माण हुन लागेको चलचित्र तिन घुम्तीमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद,रामेश्वर कार्कीको छायांकन रहनेछ ।
कर्मा प्रोडक्शनको ब्यानरमा तयार हुन लागेको चलचित्रको तिन घुम्तीको लामो समय होमवर्क गरिएको थियो ।