
काठमाडौं । रणबीर कपुर अभिनीत भारतीय फिल्म ‘रामायण : भाग एक’ बिहीबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । तर, नेपालका ३० भन्दा बढी हलले भने यो फिल्म देखाउन पाएनन् । ती हलमा २के प्रविधि नहुनु यसको मुख्य कारण बनेको छ ।
भारतबाट फिल्मको २के र ४के रिजोलुसनका फाइल मात्र पठाइएको र २के प्रविधि नभएका हलमा फिल्म दिन निर्माण कम्पनीले अस्वीकार गरेको बताइएको छ । काठमाडौंका अधिकांश मल्टिप्लेक्समा २के प्रविधि छ । तर, बनेपा, दाङ, चितवन, दमक, बुटवल र सर्लाहीलगायत ठाउँका केही मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलमा यो प्रविधि छैन । ती हलले निकै कम गुणस्तरको एचडी ढाँचामा फिल्म देखाउँदै आएका छन् ।
केही हलमा प्रदर्शन हुन नसके पनि नेपालमा फिल्मले बलियो सुरुवात गरेको छ । पहिलो दिन ठुलो संख्यामा सो पाएको फिल्मको ओपनिङ कमाइ २ करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । बिहीबारका अधिकांश सोमा ९० प्रतिशतभन्दा बढी दर्शक पुगेको र शनिबारका सोमा पनि दर्शकको चाप बढ्दै गएको बताइएको छ ।
यसै प्रसंगमा नेपाली फिल्मको प्रदर्शन गुणस्तरबारे पनि बहस सुरु भएको छ । ‘छ माया छपक्कै २’का निर्माता रोहित अधिकारीले अबदेखि नेपाली फिल्म पनि कम्तीमा २के गुणस्तरमा देखाउनुपर्ने धारणा फेसबुकमार्फत राखेका छन् ।
हल सञ्चालक तथा निर्माता प्रदीपकुमार उदय भने यसमा असहमत छन् । २के प्रोजेक्टर महँगो हुने भएकाले यसलाई अनिवार्य गरे दर्शक भएका ठाउँमा पनि नयाँ हल खुल्न नसक्ने उनको तर्क छ । उनका अनुसार राम्रोसँग नबनेको फिल्म जुनसुकै प्रविधिमा देखाए पनि चल्दैन ।
नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’मा रणबीर कपुर रामको भूमिकामा छन् । यशले रावण, साई पल्लवीले सीता, रवि दुबेले लक्ष्मण र सन्नी देओलले हनुमानको भूमिका निभाएका छन् । दुई भागमा बनेको फिल्मको दोस्रो भाग अर्को वर्ष दिवालीअघि प्रदर्शन गर्ने योजना छ ।




