
काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत एक्सन फिल्म ‘किङ’ले हलमा पुग्नुअघि नै विभिन्न अधिकार बिक्रीबाट करिब ६६५ करोड भारतीय रुपैयाँ आम्दानी सुनिश्चित गरेको छ । भारतीय मनोरञ्जन पोर्टल पिङ्कभिलाले प्रकाशित गरेको विवरणअनुसार यो रकम फिल्मको निर्माण लागतभन्दा धेरै माथि छ ।
सो विवरणअनुसार कुल आम्दानीमध्ये सबैभन्दा ठूलो हिस्सा थिएटर अधिकारको छ । भारतभरको वितरण अधिकार पेन मरुधरले २५० करोडमा लिएको छ भने विदेशी बजारको अधिकार न्यूनतम ग्यारेन्टीको सर्तमा १७५ करोडमा बिक्री भएको छ । यसरी थिएटरबाट मात्रै ४२५ करोड पक्का भएको छ । बाँकी रकम डिजिटल, सङ्गीत र स्याटेलाइट अधिकारबाट जुटेको बताइएको छ । डिजिटल अधिकार नेटफ्लिक्सले लिएको र त्यसको मूल्य बक्स अफिस प्रदर्शनसँग जोडिएकाले कुल आम्दानी अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
फिल्मको लागत पनि सानो छैन । पिङ्कभिलाका अनुसार सुरुमा करिब २०० करोडको बजेट राखिएको यो फिल्मको खर्च छायाङ्कन अघि बढ्दै जाँदा करिब ४०० करोड पुगेको छ, जसमा शाहरुखको पारिश्रमिक समावेश छैन । उनको पारिश्रमिक जोड्दा लागत ५०० करोड नाघ्ने र प्रचारप्रसार तथा प्रिन्टमा थप ४० देखि ५० करोड खर्च हुने अनुमान छ । यसलाई बलिउडकै दोस्रो महँगो फिल्म भनिएको छ ।
‘पठान’ र ‘वार’ जस्ता फिल्म बनाएका सिद्धार्थ आनन्दले ‘किङ’ निर्देशन गरेका हुन् । शाहरुखकै कम्पनी रेड चिलिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन र शाहरुखकी छोरी सुहाना खान पनि छन् ।
करिब दुई वर्षपछि शाहरुख यस फिल्ममार्फत ठूलो पर्दामा फर्किँदैछन् । फिल्म डिसेम्बर २४ (पुस ९) मा प्रदर्शन हुने तय छ ।




