
काठमाडौं । बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खान आज ६१ वर्ष पुगेका छन् । पर्दामा प्रेम र मारधाडका लागि चर्चित शाहरुख वास्तविक जीवनमा पनि परिवार, आत्मसम्मान र कामको कुरा आउँदा धेरैपटक आक्रोशित भएका छन् । उनको जन्मदिनको अवसरमा भारतीय पत्रिका दैनिक भास्करले क्यामेराबाहिरका उनका यस्तै झगडाका किस्सा सार्वजनिक गरेको छ ।
शाहरुख भर्खर चलचित्रमा आएका र नयाँ-नयाँ विवाह गरेका थिए । ‘मामा मेमसाब’ (१९९३) को छायांकनका बेला एउटा पत्रिकाले उनले नायिकासँग शारीरिक सम्बन्ध राखेको समाचार छाप्यो । यसले पत्नी गौरी खान दुःखी भइन् । रिसाएका शाहरुखले सम्पादकलाई फोन गरेर गाली गरे र त्यही साँझ ससुराबाट विवाहमा उपहार पाएको तरबार लिएर समाचार लेख्ने पत्रकारको घरमा पुगे । त्यहाँ उनले कुटपिट गर्दै ‘काटिदिन्छु’ भनेर धम्की दिए । भोलिपल्ट ‘कभी हाँ कभी ना’ को सेटबाट प्रहरीले उनलाई पक्राउ गर्यो । अभिनेता नाना पाटेकरले उनलाई धरौटीमा छुटाएका थिए । यो किस्सा शाहरुख आफैँले सन् २०१२ को एक कार्यक्रममा सुनाएका थिए ।
राजस्थानमा ‘करण अर्जुन’ को छायांकनका क्रममा गाउँका केही केटाले नृत्य टोलीका युवतीमाथि दुर्व्यवहार गरेपछि शाहरुखले लट्ठीले उनीहरूलाई कुटेका थिए । ९० को दशकमा अन्डरवर्ल्डले बलिउडमा दबाब बढाइरहेका बेला अबु सलेमले फोन गरेर एक निर्माताको चलचित्र खेल्न धम्की दिँदा शाहरुखले ‘म पठान हुँ, गोली हान्नु छ भने हान, डराउँदिनँ’ भनेर जवाफ दिएका थिए । पछि छोटा शकीलको धम्कीसमेत अस्वीकार गरेपछि उनले आफ्नो सुरक्षा बढाए र गोली नछिर्ने गाडी किने ।
सन् २००७ मा एक अवार्ड समारोहको सञ्चालनका क्रममा उनले समाजवादी पार्टीका नेता अमर सिंहमाथि व्यंग्य गरेपछि उनका समर्थकले मुम्बईस्थित शाहरुखको घर ‘मन्नत’ मा ढुंगा हानेका थिए । त्यतिबेला ६ वर्षकी छोरी सुहाना डरले रोएकी थिइन् । छायांकन छाडेर घर पुगेका शाहरुखले पछि एक अन्तर्वार्तामा प्रहरीअघि आफू पुगेको भए छोरीलाई रुवाउनेहरूलाई नछाड्ने बताएका थिए ।

सन् २००८ मा नायिका क्याट्रिना कैफको जन्मदिनको पार्टीमा सलमान खानले शाहरुखको टेलिभिजन कार्यक्रमको खिल्ली उडाएपछि दुवैबीच हात हालाहालको अवस्था आएको थियो । अभिनेता संजय दत्तले बीचबचाउ गरेका थिए । त्यसपछि दुवैले वर्षौँसम्म बोलचाल गरेनन्, तर अहिले फेरि साथी बनेका छन् । संजय दत्तकै घरमा भएको एक पार्टीमा निर्देशक शिरीष कुन्दरले ‘रा.वन’ असफल भएको भन्दै खिसी गरेपछि शाहरुखले उनलाई थप्पड हानेका थिए । भोलिपल्ट शिरीषले माफी मागेपछि विवाद सकियो । त्यस्तै, अभिनेता आमिर खानले आफ्नो कुकुरको नाम ‘शाहरुख’ राखेको ब्लग लेखेपछि दुवैबीचको चिसोपन सार्वजनिक भएको थियो । शाहरुखले पनि आमिरले भेष बदलेर चलचित्रको प्रचार गर्नुलाई सस्तो हर्कत भनेका थिए ।
सन् २०१२ मा मुम्बईको वानखेडे रंगशालामा आईपीएल खेल हेर्न छोराछोरीसहित पुगेका बेला सुरक्षाकर्मीले बच्चाहरूसँग दुर्व्यवहार गरेपछि शाहरुख ती सुरक्षाकर्मीसँग भिडेका थिए । यही घटनापछि मुम्बई क्रिकेट संघले उनलाई पाँच वर्षसम्म रंगशाला प्रवेशमा प्रतिबन्ध लगायो । घर फर्केपछि छोरा आर्यन र छोरी सुहानाले नै बुबालाई त्यस्तो गर्न नहुने भनेका थिए । पछि शाहरुखले यस घटनाबारे सार्वजनिक रूपमा माफीसमेत मागे ।
२ नोभेम्बर १९६५ मा दिल्लीमा जन्मिएका शाहरुखले टेलिभिजन धारावाहिक ‘फौजी’ बाट अभिनय सुरु गरेका थिए । ‘बाजीगर’ र ‘डर’ जस्ता चलचित्रले उनलाई स्टार बनायो । उनी पद्मश्री र उत्कृष्ट अभिनेताका आठ फिल्मफेयर अवार्डबाट सम्मानित छन् । गत वर्ष उनले ‘जवान’ का लागि जीवनको पहिलो राष्ट्रिय पुरस्कार पाएका थिए । उनको आगामी चलचित्र ‘किङ’ सन् २०२७ मा प्रदर्शन हुनेछ ।




