सुफी शैलीमा आयो थानेश्वर गौतमको अर्को मनमोहक गीत ‘आँखामा बसेको मान्छे’



गायक तथा संगीतकार थानेश्वर गौतम मञ्चमा गीत गाउँदै

काठमाडौं । चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ। सुफी शैलीमा तयार यो गीत जननी नेपालको प्रस्तुतिमा आइतबार गौतमकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत र गजलमार्फत पहिल्यै चर्चा कमाइसकेका गौतम चलचित्रमा आएर पनि उत्तिकै चर्चित भए। चलचित्र ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’बाट उनले चलचित्रको गीत-संगीतमा समेत आफूलाई अब्बल साबित गरे। ‘मोहर’, ‘गौँथली’, ‘जनै हराएको मान्छे’, ‘रिमै’लगायत दर्जनौँ चलचित्रमा उनले आफ्नो जादुयी स्वर र संगीत दिएका छन्। करिब ५ सय गीत तथा गजलमा स्वर दिइसकेका गौतमको यो नयाँ गीत भने चलचित्रको होइन, एकल सांगीतिक भिडियोका रूपमा ल्याइएको हो।

गीतमा शब्द केदारप्रसाद खतिवडाको छ। खतिवडा नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि हुन्। उनको शब्द रहेको गीतमा प्रेम, कसम र अकस्मात् आइपरेको बिछोडको पीडा पोखिएको छ। देउरालीमा फूल चढाएर जुनी-जुनीसम्म सँगै रहने वाचा गरेको प्रेम क्षणभरमै हराउँदा प्रेमीको मनमा परेको घाउलाई गीतले मार्मिक रूपमा उतारेको छ। बेमौसमी भेल, पहिरो र चर्किएको ऐनाजस्ता बिम्बमार्फत भत्किएको सपना र टुटेको संसारको चित्र कोरिएको छ। समयसँगै निको हुनुको साटो झन्झन् गहिरिँदै जाने मनको घाउको भावले गीतलाई अझ भावुक बनाएको छ।

थानेश्वर गौतमको गीत 'आँखामा बसेको मान्छे'को पोस्टर

गीतको भावलाई सांगीतिक भिडियोले कथाका रूपमा अघि बढाएको छ। भिडियोमा एक युवकले माया गरेकी युवतीलाई गम्भीर रोगले सधैंका लागि चुँडेर लैजान्छ। एउटा हलमा चलिरहेको सांगीतिक कार्यक्रममा पुगेका ती युवक गीत गुन्जिँदै गर्दा विगतका सम्झनामा डुब्छन्। उनको सम्झनासँगै प्रेमकथा र बिछोडका दृश्यहरू क्रमशः खुल्दै जान्छन्।

भिडियोमा गायक गौतम आफैं मञ्चमा गीत गाउँदै देखिएका छन्। गीतकार खतिवडा पनि मञ्चमै उपस्थित छन्। यसले भिडियोलाई प्रत्यक्ष सांगीतिक कार्यक्रमको अनुभूति दिएको छ। भिडियोमा सुरेश कोहली र सम्पदा अमगाईंले अभिनय गरेका छन्।

भिडियोको कथा र निर्देशन विशाल घिमिरेको हो। कोरियोग्राफी समीप तामाङ, छायाङ्कन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन्। गीतमा संगीत संयोजन नारायण डंगालको छ भने मिक्सिङ र मास्टरिङ खडक बजुरालीले गरेका हुन्।

सुफी धुनलाई जीवन्त बनाउन तबला, ढोलक र मादलमा भुवन गन्धर्व, इसराजमा सन्तोष श्रेष्ठ, सारङ्गीमा धर्म गन्धर्व र बाँसुरीमा गोपाल देवले साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu