दस दिनमै १० करोड नाघ्यो ‘कबड्डी ५’, ‘पेन्सन पट्टा’लाई उछिन्दै वर्षको दोस्रो सफल चलचित्र



चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक: गौंथली, कबड्डी ५, पेन्सन पट्टा, आ बाट आमा २ लगायतका चलचित्र

काठमाडौं । दसैंमा प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ५’ ले दस दिनमै १० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक ६ गते रिलिज भएको यो चलचित्रले कात्तिक १५ गतेसम्म कुल १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ उठाएको छ ।

यस अवधिमा चलचित्रका ३ लाख ४६ हजार ४२७ टिकट बिक्री भएका छन् । यो कमाइसँगै ‘कबड्डी ५’ यस वर्ष सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । यसअघि दोस्रो स्थानमा रहेको ‘पेन्सन पट्टा’ ले ३ लाख ६२ हजार २०१ टिकट बेच्दै १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँको कारोबार गरेको छ । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् ।

वर्षको सर्वाधिक कमाउने चलचित्रको स्थानमा भने ‘गौंथली’ नै कायम छ । बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ ले ९ लाख ४६ हजार ८६४ टिकट बेच्दै २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ कमाइसकेको छ । त्यस्तै, ‘बाः एक योद्धा’ ले १ लाख २७ हजार २१७ टिकट बेच्दै ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ उठाएको छ ।

दसैंमा रिलिज भएका अन्य चलचित्रमध्ये ‘आ बाट आमा २’ ले ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँको कारोबार गर्दै ‘कबड्डी ५’ पछिको स्थान ओगटेको छ । यसका २ लाख १३ हजार १९४ टिकट बिक्री भएका छन् । रोहित अधिकारी निर्देशित ‘छ माया छपक्कै २’ ले भने १ लाख ३ हजार ९७९ टिकट बेच्दै ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ उठाएको छ ।

विराज भट्ट निर्देशित एक्सन चलचित्र ‘१२ गाउँ २’ ले भने दर्शकको अपेक्षित साथ पाउन सकेन । बोर्डको तथ्यांकअनुसार यसले ७४ हजार ८०३ टिकट बेच्दै २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ मात्र उठाएको छ । दसैंमा रिलिज भएका चलचित्रमध्ये यो चौथो स्थानमा छ ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ शृंखलाको पाँचौं भाग ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ मा दयाहाङ राई फेरि ‘काजी’ को भूमिकामा देखिएका छन् । सन् २०२२ मा आएको ‘कबड्डी ४ : द फाइनल म्याच’ लाई काजीको कथाको अन्तिम भागका रूपमा प्रचार गरिएको थियो । तर पाँचौं भागमा प्रेमपछिको काजीको व्यावहारिक जीवनलाई कथा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu