डेढ महिनामा दुई चलचित्र १० करोड क्लबमा, दयाहाङ राईको शानदार पुनरागमन



काठमाडौं । अभिनेता दयाहाङ राईका लागि यो वर्ष बक्स अफिसमा निकै फलदायी बनेको छ । करिब डेढ महिनाको अन्तरमा प्रदर्शनमा आएका उनी अभिनीत दुई चलचित्र ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’ दुवैले १० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।

माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ भदौ २६ गते प्रदर्शनमा आएको थियो । सुरुका दिनमा सुस्त देखिएको यो चलचित्रले दर्शकको मुखैमुख प्रचारका भरमा गति लिँदै चलचित्र विकास बोर्डको तथ्यांकअनुसार १० करोड २८ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । दसैंको अवसर पारेर कात्तिक ६ गते रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले भने दस दिनमै १० करोड ७६ लाख रुपैयाँ नाघेको छ ।

बोर्डको तथ्यांकअनुसार यी दुवै चलचित्र यस वर्ष सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रको सूचीमा ‘गौंथली’ पछि दोस्रो र तेस्रो स्थानमा छन् । ‘कबड्डी ५’ यो वर्ष सबैभन्दा छिटो १० करोड पुग्ने नेपाली चलचित्र बनेको र यसको कमाइ १५ करोडसम्म पुग्ने अनुमान गरिएको फिल्मीखबरले जनाएको छ ।

पछिल्ला केही वर्ष दयाहाङको बजार केही ओरालो लागेको थियो । फिल्मीखबरका अनुसार गत तीन वर्षमा प्रदर्शित ‘रिमाई’, ‘राजागन्ज’, ‘पिताम्बर’, ‘महाभोज’, ‘मिरमिरे’ र ‘मितज्यू’ लगायत उनका दर्जनजति चलचित्रले अपेक्षित व्यापार गर्न सकेनन् । यही पृष्ठभूमिमा लगातार दुई चलचित्रको सफलतालाई उनको बलियो पुनरागमनका रूपमा हेरिएको छ ।

‘कबड्डी’ शृंखलामा ‘काजी’ को भूमिकाबाट दर्शकमाझ लोकप्रिय बनेका दयाहाङ पाँचौं भागमा पनि सोही पात्रमा देखिएका छन् । ‘पेन्सन पट्टा’ मा भने उनले भारतीय सेनामा कार्यरत बुबाको निधनपछि पेन्सनको दाबी गर्न ‘सानी आमा’ खोज्दै हिँडेको पात्र निभाएका छन् ।

सफलतासँगै केहीले उनलाई ‘बक्स अफिसका महानायक’ भन्न थालेका छन् । तर दयाहाङले फिल्मीखबरसँगको कुराकानीमा यो उपमा आफूलाई भारी लाग्ने बताएका छन् । चलचित्र कहिले चल्ने र कहिले नचल्ने भएकाले आफूले पनि सफलता र असफलता दुवै भोगेको उल्लेख गर्दै उनले यस्तो उपाधि नदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu